चुनाव रोक्ने आग्रह अस्वीकार

  • 29 अक्टोबर 2013
Image caption चुनाव विथोल्ने घोषणा गरेको नेकपा-माओवादीले पछिल्ला दिनमा चुनाव विरोधि गतिविधिलाई तिव्र पारको छ

राजनीतिक सहमति खोज्न भन्दै मंसिर ४ गते हुन लागेको चुनाव रोक्न नेकपा-माओवादीले गरेको आग्रहलाई मुख्य दलहरुले एक स्वरमा अस्वीकार गरिदिएका छन्।

चुनाव बहिस्कार गर्ने घोषणा गरेको माओवादीले वार्ताको पहल गर्न सरकार र मुख्य दलहरुलाई मंगलवार त्यस्तो आग्रह गरेको थियो।

चुनावी अभियानमा व्यस्त मुख्य दलका नेताहरुले अब कुनै पनि हालतमा चुनाव नरोकिने बताएका छन्।

आग्रह

केही दिन यता चुनाव विरोधी गतिविधिलाई तीब्रता दिएको नेकपा-माओवादीले एउटा प्रेस वक्तब्य जारी गर्दै “परिणाममुखि राजनीतिक निकासका” लागि चुनाव स्थगन गर्न चार राजनीतिक दल र सरकारलाई विशेष अनुरोध गरेको थियो।

अध्यक्ष मोहन बैद्यद्वारा जारी वक्तब्यमा राष्ट्रिय सहमति बिना हुन लागेको दोस्रो संविधानसभा चुनाव स्थगन गरेर गोलमेच सभाबाट निकास निकाल्नुपर्ने पुरानै अडान दोहोर्याइएको छ।

गएको चैत्रमा प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार निर्माण भएपछि त्यस प्रति असहमति जनाउँदै आएको सो दलले सर्वपक्षीय गोलमेच सभाबाट भावि राजनीतिक मार्गचित्र निर्धारण गरिनु पर्ने माग गर्दै आएको छ।

केही महिना अघिको वार्तामा मुख्य चार शक्ति र आफू नेतृत्वको मोर्चाबीच गोलमेच सभा गर्ने सैद्धान्तिक सहमति भए पनि विदेशी चलखेलका कारण त्यो बिथोलिएको नेकपा-माओवादीको ठम्याई छ।

प्रतिक्रिया

चुनावी प्रचारमा व्यस्त रहेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले गोलमेच सम्मेलन र चुनाव स्थगन दुवै सम्भव नभएको जवाफ दिए।

“त्यस किसिमको अपिल अब सार्थक हुने सम्भावना देखिन्न। चुनावपछि मात्र उनीहरुका माग सम्बोधन हुनसक्छ।”

एकिकृत माओवादीका नेता देवेन्द्र पौडेलले नेकपा-माओवादीलाई संविधाननिर्माणको प्रकियामा समेट्ने विकल्प मात्र बाँकि बचेको बताए।

चुनावी प्रकिया अन्तिम चरणमा पुगेकाले अब त्यसलाई रोक्न नसकिने नेपाली कांग्रेसको भनाई छ।

चुनाव सर्ने कुनै सम्भावना नरहेको उल्लेख गर्दै कांग्रेस नेता रामशरण महत भन्छन्, “अहिले आएर चुनाव स्थगित गरौं, फेरी वार्ता गरौं भन्नु मरेपछि औषधी भने जस्तै हो।”

अविश्वास

चुनावको पक्ष र विपक्षमा रहेका दलहरुको आरोप प्रत्यारोपका बीच पहिलो संविधानसभा विघटनको १८ महिनापछि मंसिर ४ को चुनाव हुन लागेको हो।

नेकपा-माओवादीले उक्त चुनाव रोक्न सरकार र प्रमुख दलहरु सजिलै तयार हुने नपत्याएरै हुनसक्छ त्यसका निम्ति आवश्यक पहल गरिदिन अन्य दल, नागरिक समाज र बौद्धिक व्यक्तित्वलाई पनि अपिल गरेको छ।