अमेरिकि गुप्तचर प्रमुखहरुद्वारा जासुसी कार्यको बचाव

  • 30 अक्टोबर 2013
एनएसए
Image caption मित्र देशका नेताहरुको फोनकल निगरानी गरेकोप्रति एनएसएले आलोचना खेपेको छ

अमेरिकाको जासुसी नीतिको तीव्र आलोचना भइरहेका बेला त्यहांका गुप्तचर प्रमुखहरुले उक्त नीतिको बचाव गरेका छन्।

युरोपेली मित्र देशहरु तथा अमेरिकी जनताको समेत अनावश्यक निगरानी गरेको भन्ने खालका विवरणकाबीच त्यसबारे छलफल गर्न आयोजना गरिएको संसदीय सुनुवाइमा उनीहरुले जथाभावी जासुसी नगरिएको जिकिर गरेका हुन्।

अस्वीकार

जर्मनी लगायतका मुलुकका राष्ट्रप्रमुखसहित ३५ जना विश्वनेताको टेलिफोन संवादको जासुसी गरेको खबर सार्वजनिक भएपछि, अमेरिकासंग युरोपली मुलुकहरुले खुला रुपमै असन्तुष्टि पोखेका थिए।

मित्र देशहरुसंगको सम्बन्धमा यसले अविश्वास पैदा गराउने चिन्तामाझ अमेरिकी तल्लो सदनको एक समिति इन्टेलीजेन्स् प्यानलले, गुप्तचर प्रमुखहरुसंग छलफल गरेको हो।

तर उक्त छलफलमा गुप्तचर प्रमुखहरुले आफ्ना गतिविधिहरुको बचाव गरे।

राष्ट्रिय गुप्तचर निर्देशक जेम्स् क्ल्यापरले टेलिफोन संवादको अनुगमन लगायतका कदम अमेरिकी जासुसी नीतिको महत्वपूर्ण अंग भएको बताए।

तथापि उनले अमेरिकी गुप्तचरीबारे भइरहेका सूचना चुहावट अत्यन्तै क्षति पुर्‍याउने खालको भएको टिप्पणी गरे।

हाल रुसमा शरण लिइरहेका पूर्व अमेरिकी गुप्तचर कर्मचारी एडवार्ड स्नोडेनले अमेरिकाले विदेशी नेताहरुको जासुसी गरिरहेको भनी चुहाएका सूचना विभिन्न अखबारहरुले प्रकाशित गरेका थिए।

प्रष्टीकरण

संसदीय सुनुवाइकै क्रममा राष्ट्रिय सुरक्षा निकायका निर्देशक जेनरल किथ एलेक्जेण्डरले पनि गलत तरिकाले जासुसी गरेको भन्ने खबरहरु असत्य भएको बताए।

उनले भने, “आफ्नो मुलुकलाई जोगाएर आलोचना खेप्नु ठीक हुन्छ नकि त्यस्तो कार्यक्रम त्यागेर, जसका कारण हाम्रो मुलुकमाथि आक्रमण निम्तिन सक्छ।”

अमेरिकासंग मित्रवत सम्बन्ध भएका जर्मनी, फ्रान्स, ब्राजील, मेक्सिको तथा स्पेनका नेता, कूटनीतिज्ञ तथा नागरिकहरुको जासुसी गरेको विवरणहरुमाझ अमेरिकी गुप्तचर प्रमुखहरुको यस्तो प्रष्टीकरण आएको छ।