चुनाव पक्षधर दलहरुबीच झडप बढ्दो

  • 31 अक्टोबर 2013
दलका कार्यकर्ताहरु
Image caption चुनाव नजिकिैदै जाँदा विभिन्न दलका कार्यकर्ताहरुबीच भीडन्त बढ्दै गएको छ

चुनाव नजिकिँदै जाँदा तीन ठूला दलका कार्यकर्ताहरुबीच ठाउँ ठाउँमा झडप बढ्दै गएको छ।

एकीकृत माओवादीका कार्यकर्ताले आफ्ना उम्मेद्वारको गाडी तोडफोड गरेको, चुनावी प्रचारमा अवरोध पु-याएको र कतिपय ठाउँमा कार्यकर्तामाथि आक्रमण समेत गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ।

चुनाव पक्षधर दलहरुबीच नै बढेको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शुक्रबार निर्वाचन आयोगले मुख्य दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ।

सुरक्षा

चुनाव बहिष्कार गरेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले कतिपय उम्मेद्वारलाई प्रचारप्रसारमा अवरोध पु-याइरहेको विभिन्न दलहरुले आरोप लगाएका छन्।

उता चुनावमै भाग लिएका दलहरु बीच पनि झडपका खबरहरु आइरहेका छन् ।

बिहीबार चुनाव प्रचारमा आफ्नो गृह जिल्ला तनहुँ पुगेका रामचन्द्र पौडेलको घरमा बम बिस्फोट भएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेरै चुनाव प्रचार बिथोल्ने र हिंसात्मक काममा संलग्न जो कोहिलाई कडा कारवाही गर्न माग गरेको छ।

बुधबार गोरखामा एकीकृत माओवादीका कार्यकर्ताले कांग्रेस नेता मिनेन्द्र रिजाल चढिरहेको गाडी तोडफोड गरेका थिए।

बिहीबार एउटा पत्रकार सम्मेलनमा रिजालले भने, "देशभरि हिंसाका घटना बढाएर चुनावको परिणाम एकीकृत माओवादीले चोर्न खोजेकाले सरकारलाई सुरक्षा दिलाउन सचेत गराउँछौं।"

कांग्रेसले एकीकृत माओवादीमाथि चुनाव भाँड्न लागेको आरोप लगाइरहँदा चुनावी दौडाहामा रहेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले विघटित संविधानसभाले संविधान लेख्न नसक्नुको दोष चाहिं कांग्रेस र एमालेमाथि लगाउने गरेका छन् ।

काँग्रेससँगै त्यस्तो आरोपको कडा प्रतिवाद गरेको एमालेले एकीकृत माओवादी पराजयको भयबाट ग्रस्त हुँदै गएको बताएको छ।

एमाले नेता भीम रावलले भने, "निर्वाचनमा पराजयको सम्भावित चित्र देखेर माओवादीले त्यस्तो बोलिरहेको छ।"

खण्डन

एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले विपक्षी दलहरुमाथि आक्रमण गर्ने नीति आफ्नो दलको नरहेको बताए।

तल्लो तहमा केही त्यस्ता घटना भएका भए पार्टीले नियन्त्रणमा लिनुपर्ने उनले उल्लेख गरे।

अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको एकीकृत माओवादीको यसपटकको चुनावमा कांग्रेस र एमाले मुख्य प्रतिद्वन्दी रहेको ठानिएको छ।

चुनाव पक्षधर दलहरुबीच नै झडपका घटना बढेपछि यसबारे निर्वाचन आयोगले चासो व्यक्त गरेको छ।

आयुक्त इला शर्माले शुक्रबार मुख्य दलहरुलाई सो विषयमा छलफल गर्न बोलाइएको बताइन्।

मतदानको मिति नजिकिैदै गर्दा चुनाव पक्षधर दलहरुबीच नै बढेको आरोप, प्रत्यारोप र झडपका घटनाले निश्चय पनि चुनावको सुरक्षामा चुनौती थप्ने देखिन्छ।