सिरियाको रासायनिक अस्त्र उत्पादन उपकरण नष्ट

  • 1 नोभेम्बर 2013
अस्त्र निरीक्षकहरु
Image caption समयसीमा अनुसार काम गरेकाले सिरियाबारे नकारात्मक धारणा बदलिने दमस्कसको आशा छ

रासायनिक अस्त्र उत्पादन उपकरण नष्ट गर्न दिइएको समयसीमा सकिन एक दिन बाँकि रहँदा सिरियाका ती उपकरण नष्ट गरिएको अर्गनाइजेशन फर प्रोहिबिशन अफ केमिकल वेपन्स, ओपीसीडब्लु, भनिने संस्थाले जनाएको छ।

सिरियाले गैरसैनिकहरुमाथि रासायनिक अस्त्रको प्रयोग गरेका आरोपहरु लागेपछि त्यहाँको रासायनिक अस्त्र निरीक्षण गर्न निरीक्षकहरु खटाइएका थिए।

वाशिंगटनले सिरियामाथि सैनिक कारवाहीको चेतावनी दिएपछि रुसको अग्रसरतामा सिरियाले आफ्ना सबै रासायनिक अस्त्र निरीक्षण र नष्ट गर्न दिन राजी भएको थियो।

आशा

त्यसका लागि उसलाई विभिन्न चरणमा गर्नुपर्ने कार्यहरुको विभिन्न समयसीमा दिइएको थियो।

सिरियाका उप विदेश मन्त्रि फैजल मेक्दादले बीबीसीलाई आफुहरुलाई ती समयसीमामा रहेर काम गर्न कुनै अप्ठेरो नपरेको बताए।

उनले सिरियाको यस कदमबाट अब दमस्कसबारे नकारात्मक धारणा राख्नेहरुको मन परिवर्तन हुने आशा राखे।

मुख्य उपकरण नष्ट गरिएपछि अब सिरियाले सन् २०१४ को मध्येसम्ममा सबै रासायनिक अस्त्रहरुपनि नष्ट गरिसक्नुपर्छ।

सिरियाको अस्त्र भण्डारमा करीब १ हजार टन स्नायु प्रणालीलाई असर गर्ने नर्भ ग्यास, सल्फर मस्टार्ड तथा अन्य प्रतिबन्धित रसायन रहेको ठानिएको छ।

यसबीच इजरायलले सिरियाको तटिय शहर लटाकियामा हवाई हमला गरेको अमेरिकि अधिकारीले जनाएका छन्। नाम उल्लेख गर्न नचाहने ती अधिकारीका अनुसार रुसमा निर्मित मिसाइलहरु ध्वस्त गर्ने लक्ष्यका साथ ती हमला गरिएका छन्।

इजरायली अधिकारीहरुले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।