पाकिस्तानी तालीबानका नेता मेहसुद मारिए

  • 2 नोभेम्बर 2013
हकिमुल्लाह मेहसुद
Image caption पछिल्ला समयमा ड्रोन हमलामा परी कतिपय पाकिस्तानी तालीबानी नेता मारिएका छन्

पाकिस्तानी तालीबानका ठूला नेता हकिमुल्लाह मेहसुद, अमेरिकाद्वारा गरिएको ठानिएको ड्रोन हमलामा मारिएको, विद्रोही तालीबान समूहका एकजना वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्।

पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रस्थित उत्तरी वाजिरिस्तानमा उनले प्रयोग गरेको गाडीलाई लक्षित गरी चारवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो।

को थिए मेहसुद?

३५ वर्षको हाराहारीमा उमेर रहेको ठानिएका ती विद्रोही नेताले सन् २००७ मा पाकिस्तानी सेना विरुद्ध गरिएका हमलाहरुपश्चात ख्याती कमाएका थिए।

त्यतिखेर उनी उक्त विद्रोही समूहका कैयौं मध्ये एक कमाण्डर थिए।

पछिल्ला वर्षहरुमा उनको समूहले पाकिस्तानी राज्य विरुद्धको युद्धका क्रममा हजारौं मानिस मारिसकेको छ।

अगष्ट २००९ मा अमेरिकाले मानवरहित विमान ड्रोनमार्फत गरेको हमलामा बैतुल्लाह मेहसुद मारिएपछि हकिम्मुल्लाह उक्त पदमा नियुक्त भएका हुन्।

उनी पछिका पाकिस्तानी तालीबानका नेता वालिउर रेहमान मे २०१३ मा गरिएको ड्रोन हमलामा मारिएका थिए।

जनजातिय इलाकामा आधार बनाएर हकिमुल्लाहले करीब ३० विभिन्न विद्रोही समूहको नियन्त्रण गर्ने गर्थे।

उनको टाउकोको मूल्य अमेरिकाले करीब पचास करोड रुपियाँ तोकेको थियो। पाकिस्तानी सरकारले पनि उनको टाउकोको मूल्य तोकेको थियो।

गत महिना उनले बीबीसीलाई अन्तर्वार्ता दिएका थिए। त्यतिखेर उनले हवाई हमलाको खतराबारे आफु जानकार रहेको बताएका थिए।

तालिबानभित्र उनी शक्तिशाली, र सम्मानित मानिन्थे। उनीसंग सबै डराउँथे।