अमेरिकी विदेश मन्त्री इजिप्टमा

  • 3 नोभेम्बर 2013
इजिग्टका विदेश मन्त्रीका साथ केरी
Image caption विदेश मन्त्री केरीले इजिप्टमा निष्पक्ष चुनाव गराउन जोड दिएका छन्

अमेरिकी विदेश मन्त्री जोन केरीले इजिप्टमा प्रजातन्त्र पुनर्बहाली गर्न त्यहाँको अन्तरिम सरकारसँग मिलेर काम गर्न अमेरिका प्रतिबद्ध रहेका बताएका छन्।

गत जुलाई महिनामा इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले सत्ताच्युत गरेपछि इजिप्टको भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

अमेरिकाले इजिप्टलाई दिँदै आएको करोडौँ डलर बराबरको सैन्य सहायता स्थगित गरिदिएको छ।

प्रतिबद्ध

विदेश मन्त्री केरीले इजिप्टमा चाँडो प्रजातन्त्र पुनर्बहाली गर्नु पर्ने कुरामा जोड दिए।

इजिप्टलाई अमेरिकाको मित्र र साझेदार बताउँदै केरीले भने, "इजिप्टको राजनीतिक तथा आर्थिक सफलता पुरै क्षेत्रको स्थायित्वकालागि महत्वपूर्ण छ।"

विदेश मन्त्री केरीले इजिप्टमा समावेशी, स्वतन्त्र तथा निष्पक्ष चुनाव गराउन आह्वान पनि गरे।

एउटा पत्रकार सम्मेलनमा बोल्दै केरीले भने, "इतिहासले के देखाएको छ भने अन्य कुनै पनि विकल्प भन्दा प्रजातान्त्रिक प्रणालीहरु बढी स्थिर, संभावनायुक्त र समुन्नत हुन्छन्।"

सैनिक सहायता

कायरोमा सैनिक समर्थित सरकारका अधिकारीहरुसँगको वार्ता पछि बोल्दै केरीले इजिप्टलाई अमेरिकाले दिँदै आएको सैनिक सहायतामा गरिएको आँशिक स्थगनको पनि चर्चा गरे।

तर उनले भने, यो अमेरिकी कानुन अन्तर्गतको नीतिको प्रतिविम्व हो। सजाय होइन।

गत महिना अमेरिकाले उसले इजिप्टकालागि छुट्टाएको एक अर्ब तीस करोड डलर सहायताको ठूलो हिस्सा स्थगित गरिदिएको जनाएको थियो।

सन् २०१२ डिसेम्बरमा राष्ट्रपति भवनबाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुको हत्या गर्न सुरक्षाकर्मीहरुलाई उक्साएको आरोपमा भूत‌पूर्व राष्ट्रपति मोर्सी विरुद्ध मुद्दाको सुनुवाइ शुरु हुनु एक दिन अघि उनी इजिप्ट पुगेका हुन्।

इजिप्टमा गत जुलाई महिनामा इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाइएपछि भएका प्रदर्शनहरुमा सैयौं मानिसहरुको ज्यान गएपछि दुई मुलुकहरुबीचको संबन्ध तनावपूर्ण रहँदै आएका छन्।

इजिप्ट पछि विदेश मन्त्री केरीले मध्यपूर्व र उत्तरी अफ्रिकाका मुलुकहरुको पनि भ्रमण गर्नेछन्।