चुनाव-अवरोध गैरकानुनी: विश्व समुदाय

  • 6 नोभेम्बर 2013
Image caption नेकपा-माओवादीले चुनाव विफल बनाउन आमहडतालको घोषणा गरेको छ

नेकपा-माओवादीले चुनाव विरोधी क्रियाकलापलाई तीव्र बनाउँदै लगेको बेला त्यसप्रति कडा प्रतिक्रिया जनाउँदै नेपाल स्थित अन्तर्राष्ट्रिय समुदायले हिँसा वा हिँसाको धम्कीद्वारा चुनावमा गरिने अवरोध गैरकानुनी हुने बताएका छन्।

काठमान्डौंस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजकले नेपाल स्थित अन्तर्राष्ट्रिय समुदायको तर्फबाट बुधबार विज्ञप्ति जारी गर्दै कानुन विरुद्ध हुने बन्द हडतालप्रति समर्थन नहुने प्रष्ट पारेका हुन्।

नेकपा-माओवादीले गर्ने भनिएको आम हडतालको केही दिन अघि काठमान्डूस्थित अन्तर्राष्ट्रिय समुदायको साझा दृष्टिकोण सार्वजनिक भएको हो।

गैरकानुनी

चुनावको बलियो समर्थन गरिएको विज्ञप्तिमा चुनाव विरोधी गतिविधिको कडा शब्दमा आलोचना गरिएको छ।

नेकपा-माओवादीको नाम कतै उल्लेख नगरिएको विज्ञप्तिमा हिंसाको सहायतामा गरिने बन्द हडताल नागरिकका राजनैतिक अधिकार तथा नेपालको कानुन विरुद्ध रहेको उल्लेख छ।

चुनावी अभियान रोक्ने कार्यलाई गैरकानुनी भन्दै शान्तिपूर्ण, खुला र समावेशी निर्वाचनमा भाग लिन पाउने लोकतान्त्रिक अधिकारको सबैले सम्मान गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

अन्तर्राष्ट्रिय समुदायको विज्ञप्ति आफ‍ूले पढ्न नपाएको भन्दै अध्ययन गरेर बिहीवार मात्र त्यसबारेमा धारणा सार्वजनिक गर्न सक्ने नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले बीबीसीलाई बताए।

आवधिक चुनावको समर्थनमा अन्तर्राष्ट्रिय समुदायको समान दृष्टिकोण आउनु खासै नौलो नभएको जानकारहरु बताउँछन्।

तर मतदान आउन दुई हप्ता भन्दा कम समय रहँदा कतिपयले नेपालमा फरक स्वार्थ राख्ने गरेको भन्ने शक्तिकेन्द्र समेत एउटा मुद्दामा सँगै उभिनु विरलै हुने घटना भएको सेतोपाटी डट कमका प्रधानसम्पादक अमित ढकालले बताए।

विरलै

उनले भने, “हाम्रा दुईटा छिमेकी मुलुक, अमेरिका, युरोपेली सँघ लगायतका २३ वटा मुलुकहरुले कुनै पनि देशको एउटा राजनीतिक मुद्दामा साझा विज्ञप्ति निकाल्ने भनेको चाहिँ एकदमै विरलै हुने कुरा हो।”

नेकपा माओवादीका शीर्ष नेताहरुले बारम्बर भ्रमण गर्ने गरेको चीनको पनि समर्थन बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमा छ।

त्यसो हुनाले अन्तर्राष्ट्रिय समुदायको साझा धारणाले नेकपा माओवादीलाई आघात पुग्न सक्ने प्रधानसम्पादक ढकालले उल्लेख गरे।

शान्ति प्रकृयाको मर्म विपरित चुनावका लागि सेना परिचालन गरिएको भन्दै झन्डै डेढ महिना अघि नेकपा माओवादीले राष्ट्रसंघको ध्यानाकर्षण गराएको थियो।

विदेशी नियोगहरुको सर्मथन प्राप्त राष्ट्रसंघको विज्ञप्तिमा संवेदनशील समयमा उत्तेजनाका बावजुद कर्तव्यनिष्ठ ढंगले हालसम्म चुनावी सुरक्षा प्रदान गरेकोमा सुरक्षाकर्मी र गृहमन्त्रालयको प्रशंसा गरिएको छ।