इरानको परमाणु कार्यक्रमबारे सहमतिको सम्भावना

  • 8 नोभेम्बर 2013
इरानका बारे जिनीभा वार्ता
Image caption इरानी विदेशमन्त्रीले सिमित प्रकृतिको सहमति हुनेमा आशा व्यक्त गरेका छन्

इरानको परमाणु कार्यक्रमका बारे स्वीट्जरल्याण्डको जिनीभामा भैरहेको वार्तामा, सिमित प्रकृतिको प्रारम्भीक सहमति हुन सक्ने बढ्दो सम्भावना रहेको देखिएको छ।

मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जन केरी, इरानको परमाणु कार्यक्रमका बारे भैरहेको वार्ताको अन्तिम दिनमा सहभागी हुन अप्रत्याशित रुपमा शुक्रबार जिनीभा जाने भएका छन्।

नाटकीय रुपमा विदेशमन्त्री केरीको यात्रा कार्यक्रममा देखिएको परिवर्तनलाई, इरानसंग कुनै प्रकारको सहमति हुन सक्ने कुराको स्पष्ट संकेतका रुपमा लिइएको छ।

प्रयास

अमेरिकी विदेशमन्त्रालयका एकजना अधिकारीले बीबीसीलाई बताए अनुसार विदेशमन्त्री केरीले जिनीभा गएर इरान र विश्व शक्ति राष्ट्रहरुको समूहका बीच विद्यमान मतभेदहरुलाई सांघुरो पार्ने प्रयास गर्नेछन्।

विदेशमन्त्री केरी संगै यात्रा गरिरहेकी बीबीसी सम्बादाता कीम घटास भन्छिन्, अमेरिकी अधिकारीहरुले सहमतिका बारे कुरा गर्न सावधानी अपनाइरहेका छन् र शुक्रबार नै यस बारे कुनै घोषणा हुन सक्ला वा नसक्ला भन्ने स्पष्ट छैन।

यसअघि इरानी विदेशमन्त्रीले, शुक्रबार पश्चिमा शक्ति राष्ट्रहरुसंग हुने वार्तामा कुनै प्रकारको सहमति हुन सक्ने आशा व्यक्त गरेका थिए।

मन्त्री मोहम्मद जवाद जरिफले सीएनएन टेलिभिजनसंग कुरा गर्दै, इरानले युरेनियम प्रशोधनको कार्यलाई पूर्ण रुपमा नरोक्ने तर वार्ताको टेबलमा रहेका विभिन्न मुद्दाहरुलाई सम्बोधन गर्न आफू तयार रहेको बताएका थिए।

“बर्षौंपछि भएको वार्ता एकदमै कठीन भएपनि हाम्रा सामु समाधान नै हुन नसक्ने समस्या छैनन्।

"मुख्य कुरा त पश्चिमा नीतिहरुका कारण सिर्जित अविश्वासको पर्खाललाई कसरी भत्काउन सकिन्छ भन्ने नै हो।“, उनको भनाई थियो।

आशंका

पश्चिमा शक्तिहरु इरानले गरिरहेको त्यस्तो युरेनियम प्रशोधनको प्रयोग परमाणु अस्त्र निर्माणमा हुन सक्ने आशंका व्यक्त गर्दछन्।

पश्चिमा शक्ति राष्ट्रहरुको तर्फबाट भने वार्तामा भैरहेका प्रगतिका बारे कुनै प्रतिक्रिया आइसकेको छैन। वार्ताको अन्त्यमा हुने सहमति अन्तरिम प्रकृतिको हुनेछ।

अन्तिम सम्झौताका लागि वार्ताहरु अझै छ महिनासम्म चल्ने हुंदा, इरानले आफू विरुद्ध लगाइएका प्रतिबन्धहरुलाई केहि खुकुलो पारिएमा बदलामा परमाणु कार्यक्रमलाई केहि समयका लागि स्थगित गर्न सक्दछ।