शक्तिशाली आँधीद्वारा फिलिपिन्स प्रभावित

  • 8 नोभेम्बर 2013
Image caption गत एक दशकमा फिलिपिन्समा सामान्य भन्दा बढी समुद्री आँधीहरु आएका छन्

फिलिपिन्सको मध्य भागमा रहेका टापुहरूमा आएको अहिलेसम्मको सबैभन्दा ठूला आँधीहरु मध्येको एकले व्यापक विध्वंश मच्चाएको छ।

सो प्राकृत्तिक विपदका कारण तीन जनाको मृत्यु भइसकेको छ भने दशौं दाख मानिस सुरक्षित ठाउँहरुमा जान बाध्य भएका छन्।

हाइयान नाम दिइएको सो आँधीका कारण थुप्रै ठाउँमा पहिरो गएको छ र बाढी पनि आएको छ।

अधिकारीहरूले १२ लाख मानिस जोखिममा रहेका बताएका छन्।

समुद्री आँधीले लेइते, समर र सेबु टापुहरूलाई प्रभावित बनाइसकेको छ।

अवरूद्ध

ती ठाउँहरूमा बिजुली र सन्चार सुविधाहरू अवरूद्ध भएका छन्।

सबै जनधनको क्षति थाहा पाउन थुप्रै दिन लाग्ने बताइएको छ।

गत एक दशकमा फिलिपिन्समा सामान्य भन्दा बढी समुद्री आँधीहरु आएका विज्ञहरू बताउँछन्।

बीबीसीका पर्यावरण संवाददाता म्याट मग्राथ भन्छन्, “समुद्रको तातो पानी बढी उपलब्ध भएको र वायुमा पानीका कणहरू धेरै हुने ठाउँमा फिलिपिन्सका टापुहरू अवस्थित रहेकाले त्यहाँ बढी समुद्री आँधी आउने गर्छ।“

हाइयान आँधी अहिले केही कम्जोर भइ भियत्नामतर्फ बढेको जनाइएको छ।