इरानको परमाणु कार्यक्रम बारेको जेनेभा वार्ता जारी रहने

  • 9 नोभेम्बर 2013
इरानी विदेशमन्त्री जरीफ
Image caption जेनेभा वार्ता मुश्किल र महत्वपूर्ण चरणमा पुगेको इरानी विदेशमन्त्रीले बताएका छन्

तेहेरानको परमाणु कार्यक्रममाथि सम्झौताको प्रयासमा, अमेरिकि विदेशमन्त्री जोन केरी तथा इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफबीच, पाँच घण्टा छलफल भएको छ।

वार्ता लगातार तेस्रो दिन, शनिबार पनि, जारी रहनेछ, जब रुसी विदेश मन्त्री तथा वरिष्ठ चिनियाँ कुटनीतिज्ञ समेत, कुराकानीमा सरिक हुनेछन्।

प्रगति

वर्षौंदेखिको गतिरोधपछि, द्रुत गतिमा प्रगति भएका छन्।

तर विदेशमन्त्री केरीले, महत्वपूर्ण बुँदाहरुमा अझै सहमतिमा पुग्न बाँकी रहेको बताए।

“वार्तामा अझै केही अति नै महत्वपूर्ण कुराहरुमा सहमति हुन बाँकी रहेको म बताउन चाहन्छु। ती बुँदाहरु उचित र पूर्णरुपमा सम्बोधन हुनु अपरिहार्य छ,” केरीको भनाई।

बीबीसी सम्वाददाताहरुका अनुसार, वार्तामा सहमति हुन बाँकी एउटा महत्वपूर्ण बुँदाचाहीं, इरानद्वारा आफुले यूरेनियम इनरिच गर्ने कार्य जारी राख्न पाउनु पर्छ, भनेर राखेको माग हो।

इरानले यस कार्यलाई आफ्नो उर्जा मागसंग जोडेर प्रस्तुत गरेको छ, जबकि अन्तर्राष्ट्रिय समुदायको डर चाहीं, कतै उसको कार्य परमाणु अस्त्र बनाउने तर्फ लक्षित त छैन, भन्ने छ।

प्रस्तावित सम्झौता बमोजिम इरानले आफ्नो परमाणु कार्यक्रम स्थगित गरे नाकाबन्दीबाट सीमित राहत दिइनेछ।

अब वार्ता सम्वेदनशील चरणमा पुगेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले बताए।

Image caption इरानले परमाणु अस्त्र निर्माण गर्न नहुने अन्तर्राष्ट्रिय समुदायको भनाई छ

“सहमतिको दस्तावेज सम्पादन गर्ने सबभन्दा मुश्किल र सम्वेदनशील चरणमा हामी पुग्दैछौं,” जरीफले भने।

असन्तुष्ट

इरानको कट्टर दुश्मन मानिएको इजरायल भने जेनेभामा भएका भनिएका प्रगतिप्रति पटक्कै खुशी छैन।

उसले यस्तो सहमति ऐतिहासिक गल्ती हुने चेतावनी दिएको छ।

त्यस्तो कुनैपनि सहमति मान्न आफ्नो देश वाध्य नहुने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताएका छन्।

उनको त्यस्तो तीखो प्रतिक्रिया लगत्तै अमेरिकि राष्ट्रपति बराक ओबामाले इजरायली नेतालाई फोन गरेका थिए।

फोन सम्वादमा, इरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्ने अमेरिकि प्रतिबद्धता ओबामाले व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ।