विरोधको स्वरुप बदल्ने संकेत

  • 10 नोभेम्बर 2013
banda
Image caption नेकपा-माओवादी नेतृत्वको मोर्चाले सोमबारदेखि चुनावको दिन पर्ने गरी १० दिने बन्दको आव्हान गरेको थियो

विभिन्न क्षेत्रबाट तीव्र दबाबमाझ नेकपा-माओवादी नेतृत्वको चुनाव विरोधी असन्तुष्ट मोर्चाले आफ्नो विरोध कार्यक्रमको स्वरुप परिवर्तन गर्नेबारे आइतबार औपचारिक छलफल गर्ने भएको छ।

उच्चस्तरीय राजनीतिक समिति, अन्तर्राष्ट्रिय समुदाय, अधिकारकर्मी, व्यवसायी लगायतले सोमबारबाट शुरु हुने भनिएको उसको बन्दको कार्यक्रम फिर्ता लिन आव्हान गरेका बेला मोर्चाले त्यस्तो छलफल गर्ने लागेको हो।

बैठक

विभिन्न क्षेत्रको तीव्र दबाबपछि उक्त मोर्चाको नेतृत्वकर्ता नेकपा-माओवादीभित्रै बन्दको कार्यक्रम फिर्ता लिने वा नलिने भन्नेबारे मत विभाजित भएको विवरणहरु सार्वजनिक भएका थिए।

त्यसको मध्यमार्ग जस्तो देखिने गरी पछि विरोध जारी राख्ने तर स्वरुप बदल्ने विकल्पमाथि मोर्चाले विचार गरिरहेको स्वयम् नेताहरुले अनौपचारिक रुपमा बताउंदै आएका थिए।

त्यसैलाई औपचारिकता दिन आइतबार मोर्चाले आफूसंग आवद्ध दलहरुको बैठक डाकेको छ।

मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले भने,"देशभर परस्थितिको मूल्यांकन गरी पुनर्विचार गर्ने सम्भावना छ। बन्द जारी रहन्छ तर रुप बदलिनेछ।"

वार्ता

केही दिन बन्द आव्हान गरेपनि पछि त्यसलाई यातायात बन्दमा मात्रै सीमित राख्ने जस्ता विकल्पमाथि विचार भइरहेको थापाले बताए।

तथापि सरकार कसरी प्रस्तुत हुन्छ भन्नेमा आफूहरुको भावी रणनीति निर्भर रहेको मोर्चाका नेताहरुले बताएका छन्।

यद्यपि आफूहरु अझै पनि समस्या समाधान गर्न वार्ताका लागि तयार रहेको मोर्चाले उल्लेख गरेको छ।

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भने, "विरोध स्थगित गरेर वार्ताबाट समस्याको समाधान गर्न हामी तयार छौं भनेर हामीले भन्दै आएका छौं।"

सरकारले भने बन्द गर्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ।