फिलिपिन्समा आँधी पछि उद्धार प्रयास

  • 10 नोभेम्बर 2013
राष्ट्रपति एक्विनो
Image caption राष्ट्रपति एक्विनोले बिजुली र संचार पुनर्स्थापित गर्नमा जोड दिएका छन्

फिलिपिन्सका अधिकारीहरु समुद्री आँधी हाइयानबाट सबभन्दा नराम्ररी प्रभावित क्षेत्रहरुमा उद्धार प्रयास पु-याउन संघर्ष गरी रहेका छन्।

देशमा अहिलेसम्म मार परेको यो नैं सबभन्दा ठूलो आँधी थियो।

टाक्लोवन शहरमा दस हजारसम्म मानिस मारिएका छन्।

अन्यत्र अरु सयौं मारिएका छन् र हजारौं बिस्थापित भएका छन्।

यो आँधीले ४० लाख भन्दा बढी मानिसलाई प्रभावित गरेको छ।

टाक्लोवनमा आँधीले घर,बिद्यालय र विमानस्थललाई तहसनहस पारेको छ।

आँधीबाट अलगथलग बन्न पुगेका केही नगर गाउँसम्म उद्धारकर्मीहरु अझै पुग्न सकेका छैनन्।

बिपद आइ परेका क्षेत्रहरुमा हजारौं सैनिकहरुलाई तैनाथ गरिएको छ र सैनिक मालवाहक विमानहरुले आपूर्ती खसाइ रहेका छन्।

प्रयासमा बाधा

तर भग्नावशेष र क्षतिग्रस्त मार्गहरुका कारण उद्धार प्रयासमा बाधा पुगी राखेको छ।

उद्धार प्रयासहरु पूर्वी प्रान्त लियेट र त्यसको राजधानी टाक्लोवनमा केन्द्रीत गरिएको छ।

तर शहरका अधिकारीहरुले राहत बाँड्न कठिनाइ भइरहेको, ब्यापक स्तरमा लुटपाट भइरहेको र ब्यवस्था कायम गर्न गाह्रो भइरहेको बताएका छन्।

कुनै कुनै क्षेत्रमा मारिनेहरुलाई सामुहीक चिहानमा गाड्ने ब्यवस्था मिलाईंदैछ।

टाक्लोवनको भ्रमण गरेका राष्ट्रपति बेनिग्नो एक्विनोले शान्ती ब्यवस्था कायम गराउन थप सुरक्षाकर्मी पठाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

उनले बिजुली र संचार पुनर्स्थापित गर्न प्राथमिकता दिनु पर्ने कुरा पनि बताएका छन्।

तर स्थानीय बासिन्दाहरु आफ्नो सुरक्षा बारे अझै चिन्तित छन्।