कडा सुरक्षा माझ पनि जनजीवन प्रभावित

  • 11 नोभेम्बर 2013
गस्तीमा नेपाली सेना
Image caption सरकारले बन्द निस्तेज पार्न सडकमा नेपाली सेनाका जवानहरु पनि उतारेको थियो

सरकारी सुरक्षाको कडाइका माझ पनि आम हडतालका कारण देशभरको सामान्य जनजीवन गम्भीर रुपमा प्रभावित भयो।

चुनाव बहिष्कार गर्ने घोषणा गरेको नेकपा-माओवादी र उसको गठबन्धनले सोमबार नेपाल बन्दको आव्हान गरेको थियो।

बिहान सबेरैदेखि प्रहरीले बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको थियो।

शहरी क्षेत्रमा जे जति सवारीसाधन गुडे तिनलाई अवरोध पुर्‍याउन सडकमा बन्दकर्ता उत्रिएका देखिएनन्।

यसअघि शनिबार गृहमन्त्री माधवप्रसाद घिमिरेले पत्रकार सम्मेलन गरेरै बन्दको समर्थनमा उत्रिने बित्तिकै तत्काल पक्राउ गरिने चेतावनी दिएका थिए।

नियन्त्रण

तर शान्तिपूर्ण प्रदर्शनका क्रममा नभई तोडफोडमा संलग्न ८० जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले बताए।

उनले भने, "बिहान सबेरै गाडीमा ढुंगा हान्नेलाई हामीले नियन्त्रणमा लिएका हौं, शान्तिपूर्ण आन्दोलन गर्नेलाई नियन्त्रणमा लिने काम भएको छैन।"

पक्राउ परेकाहरुमा वरिष्ठ नेता नरहेको प्रहरीको भनाइ छ।

बन्द शुरु हुनुअघि दोलखा र भक्तपुरमा ४ वटा सवारीसाधनमा झण्डै मध्यरातमा आगजनी गरिएको र अन्य जिल्लाहरुमा एक दर्जन सवारी साधनमा सामान्य क्षति पुगेको प्राप्त समाचारहरुमा जनाइएको छ।

सास्ती

राजधानी लगायतका प्रमुख शहरी क्षेत्रमा सार्वजनिक सवारीसाधन पर्याप्त नगुड्दा सर्वसाधनले सास्ती व्यहोर्नु परेको थियो।

तर प्रहरी प्रवक्ता केसीले भने, "समग्रमा शान्तिसुरक्षाको अवस्था सामान्य रह्यो, उपत्यकामा लगभग पाँच सय सवारी साधन लामो दूरीका सवारीसाधन सुरक्षाका साथ भित्रिए भने बाहिरिने सवारीसाधनलाई पनि गन्तव्यमा पुराउने काम भएको छ।"

विगतका बन्दमा भन्दा सोमबार सरकारले कडा सुरक्षा प्रबन्ध मिलाएको देखिन्थ्यो।

जसले गर्दा अघिल्ला बन्दहरुमा जस्तो यसपटक सडकमा टायर बालिएका र यत्रतत्र तोडफोड तथा अवरोधका दृश्य देखिएनन्।

तर बन्द आयोजक मध्येको एक नेकपा-माओवादीका सचिव देव गुरुङले सरकारको कडा सुरक्षाका माझ पनि जनजीवन प्रभावित हुनुलाई आफूहरुको सफलताको रुपमा अर्थ्याए।