समुद्री आंधी हाइयान भियतनाम प्रवेश

  • 11 नोभेम्बर 2013
भियतनाममा आंधीबाट बच्ने तयारी
Image caption भियतनाममा आंधीबाट बच्न ६ लाख मानिसलाई अन्यत्र सारिएको छ

फिलीपीन्समा ठूलो क्षति पुर्‍याउनुका साथै हजारौंको ज्यान लिएको समुद्री आंधी भियतनामको उत्तरी प्रान्त क्वांग निन्हको भूभागमा प्रवेश गरेको छ।

हाइयान नामको उक्त समुद्री आंधी भियतनाम प्रवेश गर्नु अघि त्यसको शक्ति क्षीण भएको भएता पनि स्थानिय समय अनुसार सोमबार बिहान सबेरै तटीय क्षेत्रमा उक्त आंधीका कारण एकसय पचास किलोमीटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको थियो।

एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनका भियतनामस्थित एकजना अधिकारी टुआन जोआनले बीबीसीसंग कुरा गर्दै त्यहां भारी बर्षा र चर्को हावाहुरी चलेको बताए।

"तटीय क्षेत्रमा रहेका समुदायहरुबाट प्राप्त जानकारी अनुसार त्यहां एकदमै चर्को पानी परिरहेको छ र हावा पनि निकै वेगले चलिरहेको छ। हाइफोंग नगरका हाम्रा सहकर्मीले त्यस क्षेत्रमा आफुले यसअघि कहिल्यै यति चर्को हुरीबतासको अनुभव नगरेको बताएका छन्”, ति अधिकारीले बताए।

बाढी

राजधानी हनोईमा ठूलो वर्षा हुनुका साथै बाढी आउने अनुमान गरिएको छ। आंधीका कारण त्यहां हालसम्म ६ जनाको मृत्यु भैसकेको बताइएको छ।

चीनसंगको सीमा नजिकै पर्ने भियतनामको उत्तरी क्षेत्रमा हाइयान समुद्री आंधी प्रवेश गर्दा त्यसको शक्ति पहिले भन्दा निकै कम भैसकेको थियो।

जोखिमपूर्ण स्थानहरुबाट ६ लाख भन्दा बढी मानिसहरुलाई अन्यत्र सारिएको छ।

चीनले पनि हाइनान टापु, ग्वांगडोंग र गुआंगशी क्षेत्रमा आंधीको चेतावनी जारी गरेको छ।

फिलिपीन्समा प्रवेश गर्दा पांचौं तहको शक्तिशाली आँकलन गरिएको उक्त समुद्री आंधीको स्तरलाई भियतनाम पुग्दा पहिलो तह, क्याटेगोरी वानमा वर्गीकरण गरिएको थियो।

हावाहुरी

तैपनि त्यसले तटीय क्षेत्रमा १५७ किलोमीटर प्रतिघन्टाको वेगको हावाहुरी ल्याएको थियो।

अब यो समुद्री आंधीले पुर्‍याउने जोखिम भनेको ठूलो वर्षा हो।

भियतनाममा ४८ घण्टा भित्र १०० मिलीमीटर देखि २०० मिलीमीटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।

परिणाम स्वरुप राजधानी हनोइ लगायतका क्षेत्रमा बाढी आउन सक्नेछ।

राजधानीका बासिन्दा भावी समस्याको त्रासले खानेकुरा लगायतका सामाग्रीहरु किन्न हतारिएका स्थानीयबासीहरुले बताएका छन्।

त्यहां खानेकुराको मूल्य पनि आकासिएको विवरणहरु प्राप्त भएका छन्।

Image caption आंधी प्रभावित ४० लाख मानिससम्म राहत पुर्‍याउनु ठूलो चुनौतीको काम भएको बताइएको छ

उता, फिलिपीन्समा भने ठूलो स्तरको अन्तर्राष्ट्रिय राहत सहायता कार्यक्रमको संयोजन गरिंदै छ।

सहायता आंधीबाट प्रभावित ४० लाख मानिसहरुसम्म अत्यावश्यक राहत सामग्री पुर्‍याउन आफूहरुले सक्दो प्रयास गरिरहेको सहायता संगठनहरुले जनाएका छन्।

संयुक्त राज्य अमेरिकाको सेनाले आंधी प्रभावित दुर्गम स्थानहरुसम्म राहत सामग्रीहरु ओसार्न आफ्नो हेलिकप्टरहरुको सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ।

बीबीसीका दक्षिणपूर्वी एशिया सम्बाददाता जोनाथन हेड भन्छन्, प्राकृतिक विपदहरुको बारम्बार सामना गरिरहेको देश भएपनि फिलीपीन्सका अधिकारीहरु यसपटकको क्षतिको स्तरलाई शब्दमा बयान गर्न नसक्ने स्थितिमा रहेका देखिन्छन्।

हाइयान समुद्री आंधी यसअघि थाहा भएका मध्ये सबैभन्दा शक्तिशाली रहेको थियो।

आंधीका कारण १० हजार भन्दा बढीको ज्यान गएको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन्।