'आक्रमणका लागि नेकपा-माओवादी दोषी'

  • 14 नोभेम्बर 2013
Image caption चुनाव बहिस्कार घोषणा गरेको नेकपा-माओवादीलाई बन्द फिर्ता लिन दवाव परिरहेको छ

नेकपा-माओवादी नेतृत्वको मोर्चाका कार्यकर्ता केही दिनयता भएका विस्फोट, आगजनीजस्ता घटनाका लागि जिम्मेवार रहेको प्रहरीले बताएको छ।

मोर्चाले घोषणा गरेको यातायात बन्दको प्रभाव घट्दै गैरहेको देखिएपनि देशका विभिन्न स्थानमा विस्फोटक पदार्थ राख्ने र सडकमा गुडेका सवारी साधनलाई लक्षित गरी पेट्रोल बम प्रहार गर्ने क्रम रोकिएको छैन।

सर्वोच्च अदालतले बिहीबार तत्काल बन्द फिर्ता लिन नेकपा-माओवादी सम्बद्ध मोर्चाका नाममा अन्तरिम आदेश दिएको छ।

हिंसा

नेकपा-माओवादी नेतृत्वको मोर्चाले सोमबार शुरु गरेको आमहडताल यता देशभर झन्डै २०० वटा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ।

त्यसमध्ये करीब ५० वटामा विस्फोटक पदार्थमा प्रयोग हुने सामग्री पाइएको, करीब एक दर्जन तयार अवस्थामा रहेको बम रहेको र बाँकी नक्कली बम भएको बताइएको छ।

बुधबार काठमान्डूमा गुडिरहेको माइक्रोबसमा पेट्रोल बम प्रहार गरिँदा ४ बर्षे बालिका सहित ८ जना घाइते भएका थिए।

यसबीचमा झन्डै १ दर्जन स्थानमा सडकमा गुडेका सवारी साधनलाई लक्षित गरी पट्रोल बम फ्याँकिएको प्रहरीको भनाई छ।

संलग्नता

बन्दको आव्हान गरिरहेको मोर्चाका कार्यकर्ताहरुले नै पछिल्ला हिंसात्मक घटना गराएको अनुसन्धानले देखाएको नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले बताए।

उनले भने, “विस्फोटक पदार्थ सहितका केही मान्छेहरुलाई नियन्त्रणमा लिएर हामीले कानुनी कार्वाहीको प्रकिया अघि बढाएका छौ‌। ३३ दलीय पार्टीका राजनीतिक कार्यकर्ता हुन् भन्ने त्यस्ता व्यक्तिहरुबाटै पुष्टि भएको छ।”

हालसम्म पक्राउ गरिएका १ सय ४३ मध्ये केहीलाई अनुसन्धानपछि छोडेको र झन्डै १०० जनालाई कार्वाही गरेको प्रहरीको भनाइ छ।

पेट्रोल बम सहितका विस्फोटक पदार्थको प्रयोग आफ‍ू सम्बद्ध कार्यकर्ताले नगरेको नेकपा-माओवादीका नेताहरुले बताउँदै आएका छन्।

विरोध

नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले हिसांत्मक गतिविधि आक्रोशित जनभावनाको अभिव्यक्ति भएको बताए।

“आक्रोशित जनताले हान्छन्। तानाशाही, फासीवादी तरिकाले चुनावमा गएपछि किन हान्दैनन्?, जनयुद्धमा संलग्न एउटा पक्षलाई पाखा लगाएर चुनावमा जानु अवैधानिक हो,” उनले भने।

बिहीबार न्यायाधीश रामकुमार प्रसाद शाहको इजलासले बन्द हडतालले नागरिकको संविधानप्रदत मौलिक हकमा आघात पुगेको भन्दै तत्काल बन्द फिर्ता लिन माओवादी र उसको मोर्चामा सम्मिलित दलहरुका नाममा अन्तरिम आदेश दिएको छ।

बन्दको प्रभाव फितलो भएपछि नेकपा माओवादी नेतृत्वको मोर्चाले मतदातामा त्रास फैलाउन हिंसाको सहारा लिएको भन्दै आलोचना हुन थालेको छ।