‘आँधी प्रभावित सबैमाझ राहत’

  • 14 नोभेम्बर 2013
typhoon
Image caption बुधवारबाट मात्रै संगठित सहयोगहरु प्रभावित क्षेत्रमा पुग्न थालेको बताइएको छ

राहत कार्य प्रभावकारी नभएको भन्दै तीखो आलोचना भइरहेका बेला फिलिपिन्स् सरकारले आफ्नो बचाव गर्दै आंधीबाट प्रभावित सबैलाई सहयोग पुर्याउने वाचा गरेको छ।

१ करोड १० लाख मानिसलाई प्रभावित बनाएको हाइयान आंधीपछि राहत वितरण लगायतका काममा अहिलेसम्मको सबैभन्दा ठूलो चुनौती भोगिरहेको उसले बताएको छ।

राहत

आंधी प्रभावित क्षेत्रका बासिन्दाहरुले सरकारी राहत प्रयासहरु ढिलो गतिमा भइरहेको भन्दै आक्रोश पोखिरहेका बेला फिलिपिनी सरकारको त्यस्तो भनाइ आएको छ।

मन्त्रिपरिषद्का सचिव रेने अलमेन्ड्रसले आंधीबाट प्रभावित क्षेत्रमा राहत पुर्याउने काम राम्रो ढंगबाट भइरहेको बताए।

उनले भने, "जुन मात्रामा खाना, चामल तथा मैनबत्तीहरु प्याक गरिएका छन् अनि प्रभावित क्षेत्रमा पुर्याइएका छन् त्यत्रो स्तरमा अहिलेसम्म भएकै थिएन।"

त्रास

तर आंधीबाट सबैभन्दा प्रभावित ताक्लोबान क्षेत्रमा रहेका बीबीसी संवाददाता जोनाथन हेडले बुधवारमात्रै संगठित राहत कार्यका संकेतहरु देखिएको बताए।

उनका अनुसार थुप्रै मानिसहरुले ताक्लोबान क्षेत्र छाडिरहेका छन् र त्यहां बसिरहेकाहरु समेत खानाको अभाव हुने तथा सुरक्षा व्यवस्था बिग्रन सक्ने त्रासमा छन्।

यसैबीच आंधीका कारण मृत्यु हुनेहरुको संख्या अहिले २३ सय नाघेको सरकारी तथ्यांकहरुमा उल्लेख छ।