हिंसामा संलग्नमाथि कडाइ:प्रहरी

  • 14 नोभेम्बर 2013
bandh
Image caption यस्ता बन्दका बेला भएका हिंसात्मक घटनाले चुनावी वातावरणलाई असर पार्ने चिन्ता व्यक्त भएका छन्

चुनावको मुखमा राजधानीमै हिंसात्मक घटनाहरु हुन थालेपछि प्रहरीले त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुन नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याइसकेको बताएको छ।

चुनाव आउन ५ दिनमात्रै बाकिँ रहेका बेला राजधानीमै सार्वजनिक सवारी साधानमाथि बम प्रहार गर्ने जस्ता हिंसात्मक घटनाहरु भएपछि प्रहरीले त्यसविरुद्ध कडाइ अपनाउने बताएको हो।

नेकपा-माओवादी नेतृत्वको मोर्चाले आव्हान गरेको बन्दमा भएका हिंसात्मक घटनामा को संलग्न छन् भन्ने प्रष्ट भने भइसकेको छैन।

कार्यान्वयन

प्रहरीले बन्दकर्ता राजनीतिक दलका कार्यकर्ता नै संलग्न रहेको अनुमान गरेको छ।

यस्ता आक्रमणका घटनालाई एकाध भन्दै त्यसले चुनावी वातावरण नबिथोल्ने प्रहरी प्रवक्ता गणेश केसीले बताए।

उनले भने, "यस्ता एकाध घटना केही राजनीतिक दलका कार्यकर्ताबाट हुन थालेपछि हामीले सुरक्षा व्यवस्थाको नयाँ रणनीति अख्तियारी गरि त्यो कार्यान्वयनमा गइसकेको छ।"

आग्रह

प्रहरीले यस्तो बताइरहँदा राष्ट्रिय मानव अधिकार आयोगले भने बढ्दै गएका त्यस्ता घटनाले मतदातालाई ढुक्क भएर भोट हाल्न जाने स्थिति नहुने भन्दै सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई आग्रह गरेको छ।

आयोगले देशव्यापी चुनावी माहोलको निरीक्षण गर्दा जनताहरुमा भयभीत अवस्था रहेको भन्दै सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो।

चिन्ता

आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईले भने, "जताततै बम बिस्फोट, आगजनी र तोडफोडका घटना भइरहेको बेला ढुक्क भएर मान्छेहरु मतदान केन्द्रसम्म जान अप्ठ्यारो स्थिति आउन सक्छ।"

चुनाव नजिकिदैं जांदा हिंसात्मक घटनाले चुनावी वातावरणलाई असर पार्न सक्ने चिन्ताहरु सार्वजनिक भइरहेका बेला प्रहरीले भने त्यस्तो चिन्ता गर्न आवश्यक नरहेको उल्लेख गरेको छ।