क्यामरुन उत्तरी जाफ्नाको भ्रमणमा

  • 15 नोभेम्बर 2013
बेपत्ता भएकाहरुका आफन्त
Image caption युद्धका अन्तिम चरणमा बेपत्ता भएका मानिसका आफन्तहरु समय समयमा बिरोध प्रदर्शन गर्ने गर्दछन्

बृटिश प्रधानमन्त्री डेभिड क्यामरुनले श्रीलंकामा उत्तरी जाफ्ना क्षेत्रको एतिहासिक भ्रमण गरेका छन्।

उनले त्यहाँको लामो गृहयुद्धमा पिडीत भएका केही मानिस र तामील नेताहरु सित भेटघाट गरेका छन्।

सन् १९४८ यता उत्तरी श्रीलंकाको भ्रमण गर्ने उनी पहिलो विदेशी नेता भएका छन्।

क्यामरुनले सन् २००९ मा समाप्त भएको द्वन्दका अन्तिम महिनाहरुमा भएका भनिएका युद्ध अपराधहरु बारे उचित छानविन हुनु पर्ने कुरामा जोड दिएका छन्।

सैनिक कार्यवाहीको बेला तमील टाइगर विद्रोहीहरु बिरुद्ध भएको भनिएका अत्याचारहरु तर्फ संकेत गर्दै क्यामरुनले त्यहाँ भएका भनिएका कहाली लाग्दा घटनाहरुलाई प्रकाशमा ल्याउन चाहेको कुरा बताए।

बृटिश प्रधानमन्त्रीले भने,यो देशमा के भएको थियो भनि प्रकाशमा ल्याउनु जरुरी छ। देशको उत्तरका जनताको आवाजको पनि कदर हुनु पर्छ।

श्रीलंकाका राष्ट्रपति महिन्द राजपक्षले जथाभावि गोलावारी भएको, मानिसहरु मारिएको र बलत्कार भएको भन्ने आरोपहरुलाई अस्विकार गरेका छन्।

उनले भने,तीस बर्षसम्म मानिसहरु मारिंदै थिए, सन् २००९ यता त्यो बन्द भएको छ।

युद्धका अन्तिम चरणमा बेपत्ता भएका सयौं मानिसका आफन्तहरुले क्यामरुनको भ्रमणको बेला जाफ्नामा बिरोध प्रदर्शन गरेका थिए।

शिखर बैठक

क्यामरुन आजै शुरु भएको राष्ट्र मण्डलका नेताहरुको शिखर बैठकमा भाग लिन श्रीलंका पुगेका हुन्।

यो बैठक तीन दिनसम्म चल्नेछ।

सो बैठक श्रीलंकामा आयोजना गरिनु ठिक थियो वा थिएन भन्ने बिवाद बढ्दै गैराखेको छ।

भारत, क्यानडा र मौरीससका नेताहरुले सो बैठक बहिष्कार गरेका छन्।

युद्धको बेला भएका भनिएका अपराधहरु बारे स्वतन्त्र छानविन गर्न दिन श्रीलंकाले अस्वीकार गरेकोले उनीहरुले यो बैठक बहिष्कार गरेका हुन्।