मतदानका लागि आवश्यक तयारी पुरा

  • 18 नोभेम्बर 2013
Image caption निर्वाचन आयोगले एक हप्ताभित्र प्रत्यक्ष प्रणाली तर्फको नतिजा सार्वजनिक गरिसक्ने तयारी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मंगलबार हुने मतदानको लागि सुरक्षा व्यवस्था लगायत सबै तयारी पुरा भएको भन्दै निर्भयपूर्वक भोट खसाल्न मतदातालाई आग्रह गरेका छन्।

चुनावको विरोध गरिरहेका दलहरुलाई लक्षित गर्दै उनले जनताको मत व्यक्त गर्ने अधिकारको सबैले सम्मान गर्नुपर्ने बताए।

राष्ट्रपति रामवरण यादवले पनि एउटा सन्देश जारी गर्दै संविधानसभा निर्वाचनको, उनकै शब्दमा, राष्ट्रिय संकल्पलाई सफल पार्न आव्हान गरेका छन्।

आह्वान

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले देशवासीका नाममा सम्बोधन गरेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्तले सरकार प्रमुखसँग मिल्दा जुल्दा धारणा राख्दै मतदातालाई भोट हाल्न आह्वान गरेका हुन्।

निर्वाचन आयोगमा संचारकर्मी बोलाएर लिखित मन्तव्य दिएका उनले मंगलबार बिहान ७ बजेदेखि सुरु हुने मतदानको सम्पुर्ण तयारी पुरा भएको बताए।

“अव निर्वाचनको तयारीको कुनै काम बाँकी छैन। यस महत्वपूर्ण घडीमा म निर्वाचन आयोगका तर्फबाट सम्पूर्ण मतदाताहरुलाई निर्भय भई स्वतन्त्रतापूर्वक मतदानमा भाग लिन आव्हान गर्दछु,” उनले भने।

निर्वाचन आयोगको मतदाता सुचीमा करिव १ करोड २१ लाख व्यक्ति दर्ता छन्।

देशभरका १० हजार १३ मतदान स्थल र करिव १८ हजार ४ सय मतदान केन्द्रबाट भोट खसाल्ने व्यवस्था आयोगले मिलाएको छ।

सुरक्षा

चुनाव विरुद्ध हिसा‌‌त्मक गतिविधि गरिरहेका समुहलाई केहि दिन अघि आंतककारीको संज्ञा दिएका प्रमुख निर्वाचन आयुक्तले असन्तुष्ट मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले आव्हान गरेको बन्द हडतालको निन्दा गरे।

मतदानको एक दिनअघि देशका विभिन्न स्थानमा हिसांका घटनाहरु भएको खबर आइरहँदा उनले सरकरी सुरक्षा व्यवस्थापनप्रति विश्वस्त रहेको प्रतिक्रिया दिए।

विभिन्न स्थानमा विस्फोटक र शंकास्पद वस्तुहरु फेला पर्नुको आलावा चुनाव पक्षधर दलहरु विच केही जिल्लामा झडपका घटनाहरु सार्वजनिक भैरहेका छन्।

प्रमुख निर्वाचन आयुक्तले चुनाव पक्षधर दलहरुलाई प्रतिस्पर्धालाई सदभावपूर्ण बनाउन र चुनावको विरोध गरिरहेको मोर्चालाई उनकै शब्दमा जनताले आफ्नो अभिमत व्यक्त गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरे।

राष्ट्रपति रामवरण यादवले सोमबार नै एउटा सन्देश जारी गर्दै चार बर्षमा संविधान लेख्न नसकेर अघिल्लो बर्ष संविधानसभाको विघटन भएपछि उत्पन्न जटिल अवस्थालाई चुनावले निकास दिने र संविधान निर्माण गर्ने अभियान सफल हुने विश्वास व्यक्त गरेका छन्।

दोस्रो संविधानसभा चुनावमा पहिलो हुने जित्ने चुनाव प्रणाली अन्तर्गत करिव ६ हजार ३ सय र दललाई भोट हाल्ने समानुपातिक प्रणाली अन्तर्गत १० हजार ७ सय उम्मेदवार मैदानमा छन्।

निर्वाचन आयोगले प्रत्यक्ष प्रणाली तर्फको नतिजा एक हप्ता भित्र र समानुपातिक प्रणाली तर्फको परिणाम तीान हप्ता भित्र सार्वजनिक गरिसक्ने बताएको छ।