कतारमा श्रमिकहरुको अवस्था बारे चिन्ता

  • 18 नोभेम्बर 2013
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले कतारमा सन् २०२२ को बिश्व कपका लाग‌ि निर्माणाधीन आयोजनाहरुमा काम गर्ने श्रमिकहरुको कंपनीहरुले गम्भीर शोषण गरी रहेको आरोप लगाएको छ।

संस्थाले श्रमिकहरुको आवश्यक सुरक्षा गर्न नसकेको भनि कतारी अधिकारीहरु माथि दोष लगाएको छ।

कतार र अन्य खाडी राष्ट्रहरुमा कामदारहरुको दयनीय अवस्थाको मानव अधिकारवादी संगठनहरुले धेरै अघिदेखि आलोचना गर्दै आएका छन्।

तर एम्नेस्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अझ गम्भीर खालको छ र त्यसको दायरा पनि फराकिलो बनेको छ।

कतारमा बिश्वका फुटबल खेलाडी र खेलप्रेमीहरुका लागि पूर्वाधारहरु निर्माणको काम भइ रहँदा त्यहाँ विदेशी कामदारहरुको मृत्यु भइ रहेको छ।

गत महिना बृटिश समाचारपत्र गार्डियनले त्यस बारे समाचार छापे पछि फुटबल सम्बन्धि बिभिन्न निकाय, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संगठनहरुले क्रुद्ध प्रतिक्रिया जनाएका थिए।

उक्त समाचारमा यो गृष्मयाममा कतारमा प्राय हरेक दिन एक नेपाली कामदारको मृत्यु भएको र सन् २०२२ को बिश्व कपसम्ममा चार हजारसम्म श्रमिकको मृत्यु हुन सक्ने कुरा उल्लेख थियो।

कामदारहरुलाई महिनौंसम्म तलब नदिइएको र उनीहरुको हिंडडुललाई नियन्त्रीत गर्न राहदानी नियन्त्रणमा लिने गरिएको कुरा पनि उल्लेख थियो।

बलजफ्ती श्रममा लगाइएको केही प्रमाण भएको र यस प्रकारको शोषण आधुनिक युगको दासता बराबर भएको पनि समाचारमा उल्लेख थियो।

यो आरोपले फुटबलको प्रशासकिय निकाय फिफालाई पनि अप्ठेरोमा पारेको छ।

फिफाको चिन्ता

फिफाका प्रवक्ता वाल्टर ग्रिगोरीयोले यो बिषयलाई गम्भीरताका साथ लिइ रहेको र बिभिन्न पक्षसित यस बारे वार्ता भैरहेको बताएका छन्।

कतार सरकारले चाहिं यस्ता समस्याहरुको समाधान गर्न श्रमिकहरुको बडापत्र ल्याइएको कुरा बताएको छ।

कतारको आयोजक समितिका प्रमुख हसन अल थावडीले भने, निर्दोषहरुको रगतमा मुछिएर यो बिश्व कपको निर्माण भैरहेको छैन।

तर अन्तर्राष्ट्रीय ट्रेड युनियन कांग्रेसको भनाईमा सार्वजनिक छलफल बिना सो बडापत्र ल्याइएको छ र कामदारहरु आफ्ना अधिकार बारे अनभिज्ञ छन्।