जेपी मोर्गनले १३ अर्ब डलर तिर्ने

  • 20 नोभेम्बर 2013
जेपी मोर्गन
Image caption जेपी मोर्गनले आफुले कुनै कानुन नतोडेको जनाएको छ

अमेरिकामा केही वर्ष पहिले देखिएको घरजग्गा संकटताका लगानीकर्ताहरुलाई गलत वा भ्रामक सल्लाह दिएको आरोप लागेको, अमेरिकि बैंक जेपी मोर्गनले उक्त मुद्दा सुल्झाउन हालसम्मकै धेरै १३ अर्ब डलर तिर्ने सहमति, त्यहाँका नियमक निकायहरुसंग गरेको छ।

अमेरिकि अर्थतन्त्रमा देखिएको घरजग्गा संकटताका आफुले लगानीकर्ताहरुलाई गलत सल्लाह दिएको तर कानुन भने नतोडेको जेपी मोर्गनले बताएको छ।

छानबिन

अमेरिकि सरकार तथा कुनैपनि निजी संस्थाबीच भएको यो नै सबभन्दा ठ‍ूलो राशीको त्यस्तो सहमति हो।

सहमतिपछि एक विज्ञप्ति जारी गर्दै जेपी मोर्गनका प्रमुख जेमी डाइमनले उक्त सहमति गर्न पाउँदा आफुहरु खुशी भएको जनाए।

सहमतिको राशी मध्ये ४ अर्ब डलर जेपी मोर्गनका व्यवहारबाट हानी पुगेका घरधनीहरुलाई बाँडिनेछ।

करीब ७ अर्ब डलरचाहीं सो बैंकले झुक्याएर बेचेको वित्तिय उपकरणले घाटा लागेको भन्दै संघीय तथा राज्य तहमा मुद्दा हालेकाहरुलाई दिइनेछ।

बाँकि २ अर्ब डलर अमेरिकि सरकारलाई जरिवानाका रुपमा तिरिनेछ।

यस सहमतिपछि उक्त बैंकमाथि अमेरिकि सरकारले थालेको वित्तिय छानबिन सकिएको छ तर त्यहाँको न्याय मन्त्रालयले थालेको फौज्दारी छानबिन भने जारी रहनेछ।

न्यून गुणस्तरका धितोपत्रहरु तिनका गुणस्तरबारे अन्जान लगानीकर्ताहरुलाई बेचेको आरोप जेपी मोर्गनमाथि लागेको थियो।

अहिले अनुसन्धान गरिएको मध्ये ८० प्रतिशत त्यस्ता धितोपत्र वित्तिय संकट उचाइमा पुगेको बेला सन् २००८/०९ तिर आफुले किनेको बियर स्टेर्न्स तथा वाशिंगटन म्युचुअलजस्ता संस्थाका कारण आफ्नो थाप्लोमा आइपरेको जेपी मोर्गनले जनाएको छ।