अफ्गान भेलामा अमेरिकासितको सहमतिबारे छलफल

  • 21 नोभेम्बर 2013
Image caption कार्जाईले अमेरिकी सैन्य टुकडीहरू विरूद्ध अफ्गान अदालतहरूमा मुद्धा नचलाइने छुट दिएका जस्तो देखिएको छ

संयुक्त राज्य अमेरिकासित सुरक्षा सम्बन्धी एक नयाँ सहमति भए, अफ्गानिस्तानमा १५,००० सम्म विदेशी सैन्य टुकडीहरू रहन सक्ने अफ्गान राष्ट्रपति हमीद कार्जाईले बताएका छन्।

अफ्गानिस्तानका २,००० भन्दा बढी वरिष्ठ नागरिकहरूको एक वृहत सभा, लोया जिर्गामा बोल्दै उनले सो भनाइ राखेका हुन्।

सो सभाले केही संवेदनशिल तथा विवादस्पद विषयहरुमा छलफल गर्दैछ।

ती मध्ये एक अमेरिकी सैन्य टुकडीहरूलाई कस्तो परिस्थितिमा अफ्गान नागरिकहरूको घरमा पस्न दिइने छ भन्ने प्रमुख रहेको छ।

अर्को चाहीं अमेरिकी सैन्य टुकडीहरूलाई अमेरिकाको वा अफ्गानिस्तानको कानून लाग्छ कि लाग्दैन भन्ने प्रश्न छ।

'मुद्धा नचलाइने छुट'

लोया जिर्गा बैठक बस्नुअघि सार्वजनिक गरिएको सहमतिको खाकामा कार्जाईले अमेरिकी सैन्य टुकडीहरू विरूद्ध अफ्गान अदालतहरूमा मुद्धा नचलाइने छुट दिएका जस्तो देखिएको छ।

सो खाकाका अनुसार उक्त सहमति सन् २०२४ भन्दा पछि सम्म लागु हुनेछ।

उत्तर एटलाण्टिक सन्धी संगठन, नेटोको बहुराष्ट्रिय सैन्यबल सन् २०१४ देखि अफ्गानिस्तानबाट फर्कने कार्यक्रम छ।

अमेरिकी विदेशमन्त्री जोन केरीले बुधवार उनको टोलीले सो खाका सम्झौताबारे अफ्गान अधिकारीहरूसित सहमति गरेको बताए।

तर उनले भनेका सहमति अफ्गानिस्तानमा सार्वजनिक भएको खाकाकै कुरा भएनभएको स्पष्ट भएको छैन।

कर्जाईले सो सहमतिलाई रूस, चीन र भारत लगायतका नेताहरूको समर्थन गरेका बताए।

उनले सो सहमतिले अफ्गानिस्तानलाई आवश्यक सुरक्षा प्रदान गर्नुको साथै अफ्गान सैन्य टुकडीहरूलाई सहयोग गरिरहेका नेटो सैन्यबललाई आधार दिने जनाए।

लोया जिर्गाको बैठकमा सहभागीहरूलाई कार्जाईले अमेरिकासितको नयाँ सुरक्षा सहमतिलाई समर्थन गर्न आग्रह गरेका छन्।