संविधानसभामा नजानेमा एमाओवादी दृढ

  • 21 नोभेम्बर 2013
मतदाताहरु
Image caption संविधानसभाको चुनावमा अहिलेसम्मकै सबैभन्दा बढी प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ

एकीकृत नेकपा माओवादीले संविधानसभा चुनावको मत गणना रोकेर पुनरावलोकन नगरिए संविधानसभा नै वहिष्कार गर्ने निर्णयमा पुनर्विचार गर्ने सम्भावना नरहेको जनाएको छ।

उसले गत मध्यरातमा भएको आफ्नो केन्द्रीय कार्यालयको आकस्मिक बैठकको सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराइ सकेको जनाएको छ।

तर आयोग वा सरकार कसैले पनि त्यसबारे कुनै प्रतिक्रिया नदिएको उक्त पार्टीको भनाइ छ।

त्यसैले पार्टी निर्णयमा अडिग रहेको बताउँदै उक्त दलका प्रवक्ता अग्नी सापकोटाले भने, "यो त अग्रगमन र परिवर्तनका विरुद्धको पुरै प्रयोजित भयानक षड्यन्त्र हो, त्यसैले पुनरावलोकन नहुँदासम्म हाम्रो निर्णयमा पुनर्विचार हुन सक्दैन।"

नरोकिने

मत गणना वहिष्कार गर्ने एकीकृत नेकपा माओवादीको निर्णय आएपछि विहान सबेरै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावको निष्पक्षताप्रति शंका नगर्न आग्रह गरेको थियो।

माओवादीको आग्रहप्रति लक्ष्य गर्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मत गणना नरोकिने बताए।

आयोगको अडानपछि पार्टीका वरिष्ठ नेताहरुका साथ एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरेर मत गणना स्थगित गरी पुनरावलोकन नगरिए आफ्नो पार्टीले संविधानसभा नै वहिष्कार गर्ने घोषणा गरे।

उनले भने, "जुन धाँधली र षड्यन्त्र भएको छ त्यसको पुनरावलोकन गरिएन भने हामी संविधानसभामा जाँदैनौं, हामी अलग हुन्छौं।"

दुखी

प्रचण्डको उक्त घोषणाले मत गणनाको परिणामलाई चासोपूर्वक नियाली रहेका सर्वसाधारणको मात्र नभई अन्य दलका वरिष्ठ नेताहरुको ध्यान समेत खिंचेको देखियो।

गृह जिल्ला बाँकेको नेपालगञ्जमा रहेका कांग्रेसका सभापति सुशील कोइरालाले भने, "एकीकृत माओवादी जस्तो ठूलो पार्टी र प्रचण्डजी जस्तो नेताले आफैले स्वागत गरेको चुनावको मत गणना वहिष्कर गर्ने जुन घोषणा गर्नुभयो, त्यसले मलाई दुखि बनाएको छ।"

मत गणनामा अगाडि देखिएका पार्टीका नेता, अन्तराष्ट्रिय पर्यवेक्षक लगायत विभिन्न क्षेत्रबाट समेत एकीकृत माओवादीमाथि 'मतदाताको आदेशको सम्मान गर्न' दवाव बढेको छ।

त्यस्तो दवाव दिनेहरुमा उक्त दलका सुभेच्छुकहरु समेत देखिएका छन्।