मतगणना स्थगन गर: एमाओवादी

  • 21 नोभेम्बर 2013
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती
Image caption मतगणना प्रक्रिया देशभर जारी रहने प्रमुख निर्वाचन आयुक्तले बताएका छन्

देशभर जारी मतगणनाका प्रारम्भिक नतिजाहरुमा तेस्रो स्थानमा देखिएको एकीकृत नेकपा माओवादीले बुधबार बिहान ३ बजे प्रेस विज्ञप्ति जारी गरी देशभर मतगणना स्थगित गर्न माग गरेको छ।

देशभर भइरहेको मतगणना अनुसार अहिलेसम्म नेपाली कांग्रेसले अग्रता लिएको छ भने एमाले दोस्रो र पहिलो संविधानसभा चुनावमा अग्रस्थानमा रहेको एकीकृत माओवादी तेस्रो स्थानमा छ।

रोक

एकीकृत माओवादीका शीर्ष नेताहरु प्रचण्ड र बाबुराम भट्टराई उठेको काठमाडौं क्षेत्र नम्बर १० र रुपन्देही क्षेत्र नम्बर ४ को जारी मतगणनामा दुवैजना तेस्रो स्थानमा देखिएका छन्।

लगत्तै रातारात एकीकृत माओवादीले केन्द्रिय कार्यालयको बैठक राखेर देशभरि मतगणना स्थगित गर्न माग गरेको छ।

प्रवक्ता अग्नि सापकोटाद्वारा जारी वक्तव्यमा भनिएको छ, "चुनावमा विभिन्न खाले षडयन्त्र र चलखेलका कारण जनताको अभिमत र अपेक्षा अनुसार जारी मतगणना प्रक्रिया अघि बढेको नदेखिएकोले यो प्रक्रियालाई स्थगित गर्न माग गरिएको छ।"

पार्टीले उक्त निर्णय गरेपछि मतगणना केन्द्रबाट एकीकृत माओवादीका प्रतिनिधिहरु फर्किन थालेका थिए।

जारी

पहिलो संविधानसभामा ठूलो भएको दलले मतगणना स्थगित गर्न माग गरेपनि निर्वाचन आयोगले मतगणना जारी रहने प्रतिक्रिया दिएको छ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, "निर्वाचनमा सहभागी सबैको सहमतिले निर्वाचन प्रक्रिया अघि बढेको हो। अब परिणाम आउन थालेपछि अन्यथा गर्नु ठीक हुंदैन।"

एकीकृत माओवादीद्वारा मतगणना प्रक्रिया स्थगन गराउन गरेको मागको आलोचना गर्दै अन्य मुख्य दलहरुले कडा प्रतिक्रिया दिएका छन्। जारी मतगणनामा अघि देखिएको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले एकीकृत माओवादीलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका छन्।

आलोचना

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, " जहिले पनि लोकतन्त्रलाई चुनौती मात्रै दिने? जनमत मेरै मात्रै हुनुपर्छ, मलाई माने मात्रै त्यो जनमत हो भन्न मिल्छ? स्थगन हुंदैन?"

जारी मतगणना प्रक्रिया कुनै पनि हालतमा स्थगित नहुने बताउँदै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीलाई निर्वाचन प्रक्रियालाई सम्पन्न हुन दिन आग्रह गरे।

उनले भने, "मतगणनाको प्रक्रियालाई सहयोग नगर्नु राम्रो कुरा होइन। म एनेकपा माओवादीलाई फेरि पनि मतगणना केन्द्रमा आउन र निर्वाचन प्रक्रियालाई सु-सम्पन्न गर्न अनुरोध गर्छु।”

प्रमुख दलका नेताहरुले पहिलो संविधानसभाको निर्वाचनमा आफूहरुले हारलाई सहज रुपमा स्वीकार गरे झैं यसपटक जनताको अभिमतलाई स्वीकार गर्न एकीकृत माओवादीलाई आग्रह गरेका छन्।