एमाले, कांग्रेसको अग्रता कायमै

  • 22 नोभेम्बर 2013
Image caption समानुपातिकतर्फको मतगणना पनि शुरु भएको निर्वाचन आयोगले जनाएको छ

गत मंगलबार सम्पन्न चुनावको पहिलो हुनेले जित्ने प्रणाली अन्तर्गको २४० सीटमध्ये आधा भन्दा बढीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

परिणाममा नेपाली कांग्रेस र नेकपा एमाले सँगसँगै अगाडि बढ्ने क्रम जारी छ।

अघिल्लो संविधानसभाको सबभन्दा ठूलो दल एकीकृत माओवादी निकै पछाडि परिरहेको छ।

कहिले कांग्रेस र कहिले एमाले तलमाथि गरेर चुनावी परिणाममा सँगसँगै अगाडि बढिरहेका छन्।

निर्वाचन आयोगले समानुपातिक मतगणना पनि शुरु भैसकेको जनाएको छ।

२४० क्षेत्रका लागि भएको आम निर्वाचनको आधा भन्दा बढी स्थानको अन्तिम परिणाम प्राप्त भइसकेको छ।

अग्रता

एमाले र कांग्रेस दुवैले ६०/६० भन्दा स्थानमा जितेर अग्रता लिइरहेका छन्।

कांग्रेसले पहिलो संविधानसभा निर्वाचनमा पहिलो हुनेले जित्ने प्रणाली अन्तर्गत ३७ क्षेत्रमा मात्र जित हासिल गरेको थियो भने त्यसबेला एमाले ३३ सीट मात्र हात पारेका थिए।

त्यसबेला पहिलो हुनेले जित्नेमा १२० सीट हात पारेर सबभन्दा ठ‍ूलो पार्टी बनेको एकीकृत माओवादीले यसपटक यो समाचार तयार पारुन्जेल २० सीट पनि हात पार्न सकेको छैन।

शीर्ष नेता

कांग्रेस र एमालेका अधिकांश शीर्ष नेताहरु विजयी भएका छन्।

दुईवटा क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दुइ शीर्ष नेताहरु सुशील कोइराला र शेरबहादुर देउवा दुवै क्षेत्रबाट विजयी बनिसकेका छन्।

एमालेका माधवकुमार नेपाल र बामदेव गौतम पनि दुई दुईवटै क्षेत्रबाट विजयी बनिसकेका छन्।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि विजय हासिल गरिसकेका छन्।

एमाले अध्यक्ष झलनाथ खनाल एकक्षेत्रबाट विजयी बनिसकेका छन्।

एमाओवादी नेता बाबुराम भट‍टराई गोरखाबाट जितेपनि रुपन्देहिमा पराजित भएका छन्।

समानुपातिक

माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ मकवानपुरबाट पराजित भएका छन्।

माओवादी अध्यक्ष प्रचण्ड काठमाण्डूबाट हारेपनि सिराहामा केही मत अन्तरले अगाडि छन्।

संविधानसभामा सबभन्दा बढी ३३५ सीटसंख्या समानुपातिक तर्फबाट छ।

त्यसको पनि गणना शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राइ बताउँछन्।

पहिलो हुनेले जित्ने २४० सीटमा कांग्रेस एमालेले तीव्र अग्रता लिए पनि समानुपातिकको मतगणना परिणाम प्राप्त भएपछि मात्र आगामी शक्ति सन्तुलनको समिकरण प्रष्ट हुनेछ।