प्रत्यक्षतर्फ कांग्रेसको अग्रता

  • 23 नोभेम्बर 2013
Image caption निर्वाचन आयोगले मंसिर महिनाभरमा अन्तिम परिणाम आइसक्ने जनाएको छ

प्रत्यक्ष तर्फका २४० निर्वाचन क्षेत्रमध्ये अधिकाशंको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले प्रतिस्पर्धी नेकपा एमाले भन्दा केही अग्रता लिएको छ।

प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम अवस्थामा पुगेको बेला कांग्रेस १०० भन्दा बढी स्थानमा विजयी भएको छ भने उसलाई पच्छ्याइरहेको नेकपा एमाले १५ स्थान पछाडि छ।

समानुपातिकतर्फको गणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ।

खण्डन

पहिलो संविधानसभामा पहिलो पार्टी भएको एकीकृत माओवादी भने यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ तेस्रो स्थानमा देखिएको छ।

मतगणना शुरु भएको रातीदेखि चुनावमा धाँधली भएको भन्ने एकीकृत माओवादीको आरोपबारे भने निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन नै गरी खण्डन गरेको छ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बीबीसीसँग भने, "खाली मतपेटिकाहरु मतदाता शिक्षाका लागि प्रयोग गरिएका हुन्। मतपत्र भएका मतपेटिका त हामीहरुले सबै संकलन गरेर मतगणना स्थलसम्म त्यही दिन पुर्याइसक्यौं।"

जीत

शनिबार साँझसम्मको मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले नेपाली कांग्रेस भन्दा करीब ३० हजार बढी मत ल्याएको छ।

अघिल्लो संविधानसभामा चौथो दलको रुपमा उदाएका तराई केन्द्रित दलहरुलाई समानुपातिकतर्फ राप्रपा र राप्रपा नेपालले उछिनिरहेका छन्।

दुई ठाउँबाट उठेका कतिपय मुख्य दलका शीर्ष नेताहरुले अन्तिम अवस्थामा एउटा क्षेत्रबाट जितेका छन्।

अघिल्लो संविधानसभाको तुलनामा यो संविधानसभामा मुख्य पार्टीका शीर्ष नेताहरुको सहभागिता निश्चित भएको छ।