इरान वार्तामा सहभागी हुन केरी जेनेभातर्फ

  • 23 नोभेम्बर 2013
जेनेभा वार्ता
Image caption दुई साता अघि रोकिएको जेनेभा वार्ताको दोस्रो चरण बुधबारदेखि जारी छ

इरानको परमाणु कार्यक्रमबारे जेनेभामा जारी वार्तामा भाग लिन अमेरिकि विदेश मन्त्री जन केरी त्यस तर्फ जाँदै गर्दा, उनलाई साथ दिन फ्रान्स तथा ब्रिटेनका विदेश मन्त्रीहरु पनि त्यहाँ जान लागेका छन्।

इरानविरुद्ध लगाइराखिएको अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दी खुकुलो गर्ने शर्तमा उसले युरानियम इनरिचमेन्ट अर्थात प्रशोधन रोक्ने विषयमा सहमति हुने आशा बढेको जनाइएको छ।

अमेरिकाका केही सांसदहरुले यदी सहमति नभए इरानमाथि थप नाकाबन्दी लगाउने विषयमा आफुहरुले दबाब दिने बताएका छन्।

शंका

आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको इरानको भनाई छ।

तर केही विश्व शक्तिहरुले उसले परमाणु अस्त्र बनाउन खोजेको शंका गर्छन्।

वार्ताकारहरुले बुधबारदेखिनै कुराकानी जारी राखेका छन्। वार्तामा एकातर्फ इरान छ भने अर्कातर्फ अमेरिका, रुस, ब्रिटेन, फ्रान्स, चीन तथा जर्मनी छन्।

Image caption इरानको परमाणु कार्यक्रमको उद्देश्यबारे पश्चिमा राष्ट्रहरुमा गहिरो शंका छ

शुक्रबार सकिने ठानिएको उक्त वार्ता अब सप्ताहान्त सम्म लम्बिने बताइएको छ।

जेनेभास्थित बीबीसीका सम्वाददाता जेम्स रेनोल्डस भन्छन् जन केरी जेनेभा आउने भन्दैमा सहमति हुनै लागेको भन्न नमिले पनि त्यसले वार्ता महत्वपूर्ण चरणमा पुगेको संकेत दिन्छ।

यसै महिनाको शुरुमा भएका वार्ताहरु सकारात्मक रुपमा टुंगिएको बताइएपछि बुधबारदेखि जेनेभा वार्ता पुन शुरु भएको हो।

पहिलो वार्ताका दौरान फ्रान्सले अन्य देशभन्दा कडा अडान राखेको अनि धेरै सम्झौता नगरिहाल्न अन्य देशलाई सम्झाएको बताइएको थियो।

दुई पक्षबीचको कुराकानी मिल्न नसक्नुमा इरानको आफुलाई यूरेनियम इनरिचमेन्ट वा प्रशोधन गर्न दिइनु पर्ने अडान प्रमुख रहेको बताइन्छ।

त्यस्तो प्रशोधन उर्जा उत्पादनका निम्ति आवश्यक रहेको इरानको भनाई छ भने त्यसले अस्त्र निर्माणमापनि सहयोग पुग्ने अरुहरुको बुझाइ छ।