समानुपातिकको मतगणना जारी, एमाले अघि अघि

  • 23 नोभेम्बर 2013
Image caption समानुपातिक तर्फका प्रारम्भिक नतीजाहरु आउन थालेका छन्

संविधानसभाको दोस्रो निर्वाचनको समानुपातिक तर्फको मतगणना अनुसार हालसम्म नेकपा एमाले पहिलो स्थानमा देखिएको छ भने दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा एकीकृत नेकपा माओवादी रहेको छ।

सबै मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम ल्याइसकिएको भए पनि थोरै जिल्लाहरुका मात्रै मतगणना शुरु भएको आयोगले जनाएको छ।

प्रतिस्पर्धा

समानुपातिक तर्फको ३३५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका १२२ दलहरुमध्ये हाल सम्मको प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले अगाडी देखिएको छ।

पहिलो हुनेले जित्ने प्रणाली तर्फको मतगणना सकिएका क्षेत्रहरुबाट समानुपातिक तर्फको मतगणना शुरु भएको छ।

सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानी देशभरीका मतदाताले पार्टीलाई हालेको भोटको संख्या अनुसार समानुपातिक तर्फको सिट बाँडफाड हुन्छ।

केही जिल्लाहरुबाट प्राप्त प्रारम्भिक मतगणनाको परिणाम अनुसार दोस्रोमा नेपाली कांग्रेस छ भने पहिलो हुनेले जित्ने प्रणालीमा झैं समानुपातिक तर्फ पनि एकीकृत माओवादी तेस्रो स्थानमा रहेको निर्वाचन आयोगको आँकडाले देखाएको छ।

तुलना

हालसम्म दुई जिल्लामा मतगणना सकिइसकेको र अरु जिल्लामा पनि शनिबारबाट शुरु हुने आयुक्त रामभक्त पीबी ठाकुरले बताए।

उनले भने, "मनाङ र मुस्ताङमा सकियो। पाँच/छ जिल्लामा शुरु भइसकेको छ। शनिवार देखि अझ धेरैमा शुरु हुन्छ।"

चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टी छ भने पाँचौमा कमल थापाले नेतृत्व गरेको नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल रहेको छ।

निर्वाचन आयोगका अनुसार हाल सम्म सबैभन्दा थोरै भोट पाउनेमा राष्ट्रिय जन विकास पार्टी, र तराई पहाड हिमाल समाज पार्टी रहेका छन्।

प्रचण्ड एकातिर विजयी

पहिलो हुनेले जित्ने प्रणाली तर्फको मतपरिणामहरुमा नेपाली कांग्रेस र नेकपा एमाले पहिलो र दोस्रो स्थानमा छन्।

उनीहरुबीचको प्रतिस्पर्धा निकै कडा देखिएको छ।

पछिल्लो परिणाम बमोजिम एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सिराहाको क्षेत्र नम्बर ५ बाट विजयी भएका छन्।

उनी काठमाण्डौंको क्षेत्र नम्बर १० बाट हारेका थिए।

त्यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सर्लाहीको क्षेत्र नम्बर १ मा पराजित भएका छन्। उनले इलामको एउटा क्षेत्रबाट जितिसकेका छन्।