एकीकृत माओवादीभित्र तीव्र विवाद

  • 24 नोभेम्बर 2013
एकीकृत माओवादी नेता तथा कार्यकर्ताहरु
Image caption चुनावी परिणामले एकीकृत माओवादीभित्र तीव्र विवाद जन्माएको छ

एकीकृत नेकपा माओवादीभित्र संविधानसभामा सहभागी भएर जाने वा बहिष्कार गर्ने भन्ने बारेको विवाद तीव्र भएपछि त्यसलाई सम्बोधन गर्न सोमबारदेखि पार्टिको केन्द्रिय समितिको बैठक डाकिएको छ।

शनिबारदेखि शुरु पूर्व पोलिट ब्यूरो सदस्यहरु लगायतका नेताहरुका बैठक आइतबारपनि जारी रहने बताइएको छ।

ती बैठकका दौरान सडक र सदन दुवैलाई उपयोग गरेर जाने चर्चा चलेको उक्त पार्टीका एक नेताले बताएका छन्।

सम्भावना

एकीकृत माओवादीको पुर्व पोलिटब्युरो, स्थायी समिति र राज्य समिति संयोजक तथा इन्चार्जहरुको शनिबारदेखि काठमाण्डौमा जारी वैठकमा संविधानसभामा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीभित्रै गम्भीर छलफल चलिरहेको केन्द्रिय सदस्य हरिबोल गजुरेलले बताए।

उनले भने, "संविधानसभाबाट संविधान बन्न सक्दैन। बन्यो भनेपनि यथास्थितिवादी र प्रतिगामी संविधान नै बन्छ भन्ने एउटा कोण भयो। जुन मार्गबाट हामी आएका छौं त्यसलाई पुनर्विचार गर्नुपर्छ र सदनको मोर्चा पनि छोड्नु हुदैन भन्ने अर्को कोणबाटपनि कुरा आइरहेका छन्।"

दुवै पक्षबीच चर्को विवाद भए पनि भोलि बस्ने केन्द्रिय समितिको बैठकले संविधानसभामा सहभागी भएरै जाने लाइन पारित गर्न सक्ने उनले बताए।

"सरकारको सम्भावना त अब सकियो। सडक र सदन दुइटैलाई परिचालन गरेर अग्रगामी दिशातिर राष्ट्रलाई लैजान पहल गर्नुपर्छ भन्ने कुरो नै हुन्छ जस्तो लाग्छ" गजुरेलले भने।

दबाब

मंगलबार सम्पन्न निर्वाचनको मत परिणामहरुमा एकीकृत माओवादी लगातार पछि पर्दै जान थालेपछि धाँधली र षडयन्त्रपूर्वक आफुहरुलाई तेस्रो पार्टी बनाउन खोजिएको भन्दै विहिबार विहान उक्त पार्टीले जारी प्रक्रिया स्थगन नगरिए संविधानसभाबाटै बाहिरीने चेतावनी दिएको थियो।

तर उक्त निर्णय फिर्ता लिन प्रमुख दलहरु, अन्तराष्ट्रिय समुदाय तथा नागरिक समाजले दबाब दिंदै आएका छन्।

विभन्न क्षेत्रबाट भएको दबाब र आलोचनाकामाझ निर्णय लिन एकीकृत माओवादीले सोमबार केन्द्रिय समितिको वैठक बोलाएको हो।