पहिलो हुनेले जित्नेतर्फ नेपाली कांग्रेस प्रथम

  • 24 नोभेम्बर 2013
नेपाली कांग्रेसका नेताहरु
Image caption नेपाली कांग्रेसका सभापति सहित तीनै शीर्ष नेताहरु चुनावमा विजयी भएका छन्

गत मंगलबार भएको संविधानसभाको दोस्रो चुनावको पहिलो हुनेले जित्ने तर्फका अन्तिम परिणामहरु आउँदै गर्दा, नेपाली कांग्रेसले प्रथम स्थान प्राप्त गरेको छ भने, नेकपा एमाले दोस्रो तथा एकीकृत माओवादी तेस्रो स्थानमा छन्।

२४० सीट मध्ये लगभग सबैको परिणाम आइसकेको सञ्चार माध्यमहरुले जनाएका छन्।

जसमा नेपाली कांग्रेसले आफ्नो सीट संख्या सय नघाएको छ भने, एमालेको ९० माथि छ।

दुई पार्टिभन्दा निकै कम, २५ सीट सहित, एकीकृत माओवादी तेस्रो भएको छ।

समानुपातिकमा एमाले अघि

त्यस्तै समानुपातिक तर्फका मतगणना धमाधम भइरहेका छन्।

आईतबार बिहान सबेरैसम्मको मतपरिणाम अनुसार करीब साढे ६ लाख मत गणना भइसक्दा, झण्डै २ लाख मत सहित एमाले अगाडि छ।

कांग्रेसले पौने दुई लाख ल्याइसकेको छ भने, एकीकृत माओवादीले एक लाख चानचुन मत पाइसकेको छ।

करीब आधा लाख मत सहित, राप्रपा नेपाल चौथो स्थानमा छ।

समानुपातिक तर्फ छुट्ट्याइएको ३३५ सीटको सम्पूर्ण मतगणना गरीसक्न, अझै एक साताभन्दा बढी लाग्न सक्ने बताइएको छ।

समानुपातिक मत प्रणालीमा पूरै देशलाई एकै निर्वाचन क्षेत्र मानेर मतदान गरिएको थियो।