'संविधानसभाको विकल्पबारे छलफल'

  • 24 नोभेम्बर 2013
प्रचण्ड र बाबुराम भट्टराई
Image caption प्रचण्डले चुनावबारे छानवीन नभए संविधानसभामै सहभागि नहुने चेतावनी दिएका छन्

एकीकृत नेकपा माओवादीभित्र संविधानसभा बाहिरैबाट सहमतिको आधारमा संविधान जारी गर्ने विकल्पबारे छलफल भएको छ।

पार्टीका उपल्लो तहका नेताहरुको लगातारको बैठकमा ती लगायतका अन्य विकल्पहरुबारे पनि छलफल भइरहेको उक्त दलका एकजना वरिष्ठ नेता वर्षमान पुनले बताए।

संविधानसभाको चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेभन्दा निकै कम मत पाएको उक्त दलको बैठकमा त्यो सहितका विकल्पबारे सोमवारदेखि हुने केन्द्रीय समिति बैठकमा बिस्तृत छलफल हुने बताईएको छ।

विकल्प

चुनावमा सुनियोजित र संस्थागत रुपमा धाँधली भएको भन्दै एकिकृत माओवादीले विश्वसनीय छानविन नभए संविधानसभामै सहभागि नहुने अडान राखेको छ।

नेता पुनका अनुसार ठाउँ-ठाउँमा खाली मतपेटिका भेटिएको, खसेको भन्दा बढी मतपत्र फेला परेको र शंकास्पद रुपमा मतपेटिका ओसारिएको जस्ता कुराहरु उठेका छन्।

त्यो सुनुवाई नभए राजनीतिक सहमतिको आधारमा संविधानसभा बाहिरैबाट पनि संविधान लेख्ने विकल्पको सुझाव बैठकमा आएको उनले बताए।

नेता पुनले भने, "३३ दल, चुनावको मत परिणाममा प्रश्न उठाएका हामी केही दलहरु बसेर पहिल्यै ८०/८५ प्रतिशत काम सकिइसकेको विषयमा सहमति गरेर राजनीतिक प्रकृयामा जान सक्ने विकल्प आएका छन्।"

आलोचना

बैठकमा आएका अन्य विकल्पबारे उनले भने, "यदि हामीले उठाएका विषयमा छानबिन हुने भयो भने संविधानसभामै गएर पनि संविधान बनाउन सकिन्छ नत्र भने सहमति बन्न सके व्यवस्थापिकामा नगई संविधानसभामा मात्रै जान सकिने विकल्प पनि आएका छन्।"

मतगणना स्थगित गरि त्यसको पुनरावलोकन नगरिए संविधानसभामै नजाने चेतावनी प्रचण्डले दिएका थिए।

जनमत स्वीकार गर्न नसकेको भन्दै उक्त दलको चर्को आलोचना भइरहेको छ।

तर नेता पुन भन्छन्, "जनता कहिलेकाहिँ एजेन्डामा भ्रमित हुनसक्छन् वा हामीलाई नरुचाएका पनि हुनसक्लान्, तर त्यसो भन्दैमा हामी छानविन नहुँदासम्म संविधानसभामा नजाने वा खुरुखुरु गईहाल्ने भन्ने पनि छैन।"

अडान

सरकारले एकीकृत नेकपा माओवादीको मागबारे मुख खोलेको छैन।

तर निर्वाचन आयोग मतगणना पुनरावलोकन नहुने अडानमा छ।

कतिपयले राजनीतिक संक्रमण हटाउने ठानेको संविधनसभाको दोश्रो चुनावको मतगणना सकिन लाग्दा पछिल्लो विवादले राजनीतिक अन्यौल बढाइ दिएको छ।