‘मध्य अफ्रिकी गणतन्त्रमा तुरून्तै कारवाही शुरू गर्नुपर्छ’

  • 26 नोभेम्बर 2013
Image caption मध्य अफ्रिकी गणतन्त्रमा गत मार्च महिनामा विद्रोहीहरूले शासन शक्ति हातमा लिएका थिए

संयुक्त राष्ट्रसंघका एक उपमहासचिवले मध्य अफ्रिकी गणतन्त्र पूर्ण रूपमा अन्योलतर्फ खस्कंदै गएको चेतावनी दिंदै त्यहाँ तुरून्तै कारवाही शुरू गर्नुपर्ने बताएका छन्।

उपमहासचिव यान एलियास्सोनले सो देशमा अफ्रिकी संघको नेतृत्वमा रहेको सैन्यबलको उपस्थिती बलियो बनाइ त्यसलाई राष्ट्रसंघीय शान्तिस्थापक सुरक्षा कारवाहीको रूपमा परिणत गर्न सुरक्षा परिषदलाई आग्रह गरेका छन्।

मध्य अफ्रिकी गणतन्त्रमा गत मार्च महिनामा विद्रोहीहरूले शासन शक्ति हातमा लिएयता सो देशमा संकट निकै गहिरिएको छ।

समस्या जटील बन्दै जाँदा त्यहाँ आम नरसंहार हुन सक्ने चेतावनीहरू दिइएका छन्।

एलियास्सोनको आग्रहपछि फ्रान्सले अन्तर्राष्ट्रिय सैन्यबलमा सामेल हुन आफ्नो झण्डै १,००० सैनिक पठाउने घोषणा गरेको छ।

आम नरसंहार

फ्रान्स र राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले अहिले सत्तामा पुगेको अल्पसंख्यक मुसलमान समुदाय र बहुसंख्यक इसाईबीच हिंसाको चक्र अब आम नरसंहार बन्नसक्ने चेतावनी दिएका छन्।

राष्ट्रसंघीय उपमहासचिव एलियास्सोनले भने, “बालबालिका र महिला सबैभन्दा बढी जोखिममा छन्।“

द्वन्द्वका कारण दुईलाख भन्दा बढी मानिस विस्थापित भएका छन्।

राजधानी बाङ्गुइबाट उत्तरतर्फ रहेको बोस्साङ्गोआमा दशौं हजारले क्याथोलिक इसाईको एक गिर्जाघरमा शरण खोजेका छन्।

सो गिर्जाघरका मुख्य पुजारी फ्रेडरिक टोन्फियोले बीबीसीसित भने, “यहाँको तनाव अनुभव गर्न सकिने किसिमको छ। मानिसहरू धेरै डराएका छन्।“

बाङ्गुइमा अहिले पनि फ्रान्सका झण्डै ४०० सैनिक छन् र उनीहरूको काम त्यहाँ रहेका फ्रान्सेली नागरिकहरूलाई सुरक्षा प्रदान गर्नु हो।

मध्य अफ्रिकी गणतन्त्र विगतमा फ्रान्सको उपनिवेश थियो।

राष्ट्रसंघीय सुरक्षा परिषदले फ्रान्सको सहयोग लिएर सो देशमा अफ्रिकी संघको सैन्य टुकडी तैनाथ गर्ने प्रस्ताव आगामी हप्ता स्वीकार गर्ने अपेक्षा गरिएको छ।