नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

  • 27 नोभेम्बर 2013
Image caption जितमा कप्तान पारस खड्काले महत्वपूर्ण ४६ रनको योगदान दिएका थिए

खाडी राष्ट्र युएईमा भएको रोमाञ्चक खेलमा प्रतिद्वन्दी हंङकङ विरुद्ध अन्तिम बलमा जित हासिल गर्दै नेपाल अर्को बर्ष बंगलादेशमा हुने विश्व कप टि ट्वेन्टी क्रिकेटका लागी छनौट भएको छ।

झन्डै १७ बर्षअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाएको नेपाली क्रिकेटले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो।

केही बर्षअघिसम्म असंम्भव देखिने विश्वकप खेल्ने लक्ष्य भेटाएपछि नेपाली टोलीका कप्तान पारस खड्काले आफ‍्नो सपना पुरा भएको महसुस गरेको बताए।

रोमाञ्चक

नेपालको विश्वकप यात्रा सुनिश्चित गरेको हङकङसँगको खेल उतिकै रोमाञ्चक थियो र उसले दिएको १४४ रनको चुनौति पुरा गर्न अन्तिम बलसम्म खेल्नुपरेको थियो।

खेल अन्त्यतिर पुग्दा केही कठिन देखिएको नेपालको जित विदेशी पिता र नेपाली आमा भएका कारण लामो हन्डरपछि हालै सरकारले अंगिकृत नागरिकता उपलब्ध गराएका ब्याट्समेन शरद भेषावकरले सुनिश्चित गरेका थिए।

अन्तिम ओभरमा चाहिएको १३ मध्ये १२ रन उनले नै बनाएका थिए।

खेलको नायक चाँही टोलिका कप्तान खड्का रहे जसले ३९ बलमा ४६ रनको महत्वपूर्ण पारी खेल्नुका साथै अर्का ब्याट्समेन ज्ञानेन्द्र मल्लसँग राम्रो साझेदारी पस्केका थिए।

समुह चरणको विजेता बनेर विश्वकपमा स्थान सुनिश्चित गरेको आफ्गानिस्तानसँग अब नेपालले प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार खेल्ने छ।

अन्तिमसम्म नेपाललाई दवावमा राख्दा पनि हार बेहोरेको हंङ्कङ्ले बंग्लादेशमा अर्को वर्ष हुने २० ओभरको विश्वकप क्रिकेटमा छनौट हुन बिहीबार पपुवा न्यु गिनिलाई हराउनुपर्नेछ।

सपना

म्याचको उत्कृष्ट खेलाडी घोषित भएपछि नेपाली कप्तान खड्काले विश्वकप खेल्ने अवस्थासम्म आउन नेपाली टोलीले निक्कै मेहनत गरेको प्रतिक्रिया दिए।

उनले भने, “जहिलेदेखी हामीले किक्रेट खेल्न शुरु ग-यौं त्यतिबेलादेखि नै हामीले विश्वकप खेल्ने सपना देखेका थियौं। सफलताको लागी सबै टोलीका सदस्यप्रति नमन गर्दछू। जब चाहिएको थियो, सबैले राम्रो खेले। मसँग प्रशंसा गर्ने कुनै शब्द छैन्।”

हारपछि हङ्कङ्का उपकप्तान वाकस बरकातले नेपाली खेलाडीको प्रंशसा गरे र थप सफलताको लागी सुभकामना दिए।

सन् १९९६ मा अन्तर्राष्ट्रिय किक्रेटमा पाइला हालेको नेपालले छोटो समयमा लोभलाग्दो सफलता हासिल गरेको छ।

समावेशी अनुहारहरुले पूर्ण नेपाली टोलीमा यतिखेर २०४६ सालको राजनीतिक परिवर्तन आसपास जन्मिएका खेलाडीको बर्चश्व छ, जसले सीमित श्रोत र साधनकाबीच उत्कृष्ट नतिजा दिदैँ आम सर्वसाधारणको मन जितेका छन्।