बर्लेस्कोनी संसदबाट निस्कासित

  • 28 नोभेम्बर 2013
silvio
Image caption बर्लेस्कोनीलाई लज्जास्पद तरिकाले संसदबाट निस्कासन गरिएको छ।

इटलीको संसदले भूतपूर्व प्रधानमन्त्री सिल्भियो बर्लेस्कोनीलाई कर छलीमा मुछिएको भन्दै तुरुन्तै लागू हुने गरी संसदबाट निस्कासन गर्ने निर्णय गरेको छ।

७७ वर्षे बर्लेस्कोनीले भने आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै राजनीति नछाड्ने बताएका छन्।

तनाव

दुई दशक इटलीको राजनीतिमा आफ्नो एकछत्र बनाएका बर्लेस्कोनी संसदको उक्त निर्णयपछि गिरफ्तार हुन सक्नेछन् किनकी कानूनी कारबाहीबाट उनले पाएको उन्मुक्ति अब हटेको छ।

उक्त निर्णय लिनुअघि संसदमा पक्ष विपक्षका सांसदहरुबीच यतिसम्म तीतो आरोप प्रत्यारोप भएको थियो, झण्डै झण्डै हात हालाहालकै स्थिति आएको थियो। बर्लेस्कोनीका समर्थकहरुले चुनौती दिए पनि औपचारिक मतदान गर्ने प्रस्ताव सांसदहरुले अस्वीकार गरिरहे र अन्तत: सभामुखले बर्लेस्कोनीलाई सांसद सिटका लागि अयोग्य घोषित गरिदिए।

सम्भावना

पछिल्लो घटनाका बाबजुद पनि उनी राजनीतिमा फर्कने सम्भावना पूर्ण रुपमा समाप्त भइनसकेको बीबीसीका युरोप सम्पादक पउल हेन्ली बताउंछन्।

उनले भने, "उनी निश्चित रुपमा बाहिरिन लागेका मान्छे जस्तो देखिदैंनन्। उनी त्यस्ता मान्छे हुन् जसले आफ्ना विपक्षीहरुलाई कयौं वर्षसम्म अस्वीकार गरिरहे।"

बर्लेस्कोनीले पनि आफू राजनीतिबाट नअलग्गिने बताएका छन्।

कहिले आफ्नो यौन जीवन त कहिले भ्रष्ट्राचारजस्ता मुद्दामा उनी विवादित बन्दै आएका छन्।