कांग्रेस एमाले दुई-तिहाई नजिक

  • 28 नोभेम्बर 2013
Image caption संविधान सभामा नेपाली कांग्रेस र एमालेले दुइ तिहाइ पुर्‍याउन अन्य दलमा भर पर्नुपर्नेछ

समानुपातिक प्रणाली अन्तर्गतको मतगणना बिहीबार सम्पन्न भएपछि दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले संयुक्त रुपमा दुई-तिहाई नजिक पुगेका छन्।

तर दुई दल मिलेर गएको खण्डमा पनि उनीहरुले नयाँ संविधान जारी गर्नका लागि आवश्यक पर्ने दुई-तिहाई पुर्‍याउन अन्य दलहरुको सहयोग लिनुपर्ने प्रष्ट भएको छ।

निर्वाचन आयोगले भने दलहरुलाई औपचारिक रुपमा सीट बाँडफाँट गर्न केही दिन लाग्ने जनाएको छ।

नेपाली कांग्रेसले पहिलो हुनेले जित्ने प्रणाली तर्फ १०५ सीट पाएको थियो जसमा समानुपातिक तर्फबाट ९१ सीट थपिने आंकलन गरिएको छ।

त्यस्तै पहिलो हुनेले जित्नेमा ९१ सीट पाएको एमालेले समानुपातिकमा ८४ सीट पाएको बताइएको छ।

मतगणनालाई सीट संख्यामा बदल्ने प्रविधिका जानकार डा मिनेन्द्र रिजालले भने, "कांग्रेसले ९१ एमालेको ८४ एमाओवादीको ५४ र राप्रपा नेपालको २३ सीट आउने देखिन्छ।"

बाँडफाँट

अघिल्लो संविधानसभाका लागि प्रयोग गरिएको सुधारिएको सेन्ट लेग प्रविधिका आधारमा समानुपातिक सीट बाँडफाँट गरिनेछ।

यो गणना अनुसार कांग्रेस एमालेले समानुपातिक र पहिलो हुनेले जित्ने दुवैमा गरी जम्मा ३७१ सीट प्राप्त गर्ने देखिएको छ।

त्यसमा थपिनेछ मन्त्रिपरिषदले मनोनयन गर्ने २६ मध्येका कैयौं सीट।

दुई तिहाई

६०१ सदस्यीय संविधानसभामा दुई तिहाईका लागि ४०१ सीट आवश्यक पर्ने भएकाले कांग्रेस एमाले दुई दलको मात्रै दुई तिहाई भने पुग्नेछैन।

समानुपातिकतर्फ नेपाली कांग्रेसले २४ लाख भन्दा बढी मत पाएको छ।

नेकपा एमालेले २२ लाख भन्दा बढी र एकीकृत माओवादीले १४ लाख भन्दा बढी मत पाएका छन्।

पहिलो हुनेले जित्नेमा एक सीट पनि नपाएको राप्रपा नेपाल समानुपातिक प्रणाली अन्तर्गत ६ लाख भन्दा बढी संख्या पाएर चौथो शक्ति बनेको छ।

प्राप्त मतसंख्याका आधारमा सीट बाँडफाँट गर्न समय लाग्ने निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले बताए।

चयन

निर्वाचन आयोगले सीट बाँडफाँट गरेपछि चुनावअघि नै आयोगलाई बुझाएको बन्द सूचिबाट दलहरुले उम्मेदवारको अन्तिम चयन गर्नेछन्।

आयोगले सबै प्रक्रिया पुरा गरेर अन्तिम चुनाव परिणाम तयार पार्न कम्तिमा दुई साता लाग्ने बताएको छ।

६०१ सदस्यीय संविधान सभामा २४० पहिलो हुनेले जित्ने ३३५ समानुपातिक र २६ जना सहमतिमा सरकारले मनोनयन गर्ने व्यवस्था छ।

अन्तरिम संविधान २०६३ अनुसार निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरेको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्नेछ।