प्रमाणपत्र वितरणको काम रोकिंदैन: आयोग

  • 2 डिसेम्बर 2013
आयोग
Image caption निर्वाचन आयोगले प्रमाणपत्र वितरणको काम नरोकिने जनाएको छ

निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले हासिल गरेका सिट संख्याको औपचारिक घोषणा मंगलबार गर्ने र उक्त संख्या बराबरका उम्मेदवारहरुको नाम माग गर्ने एकजना आयुक्तले बताएका छन्।

तर एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फको विजेताको नाम नबुझाउने बताएको छ।

निर्वाचन आयोगले चाहीं नामहरु दिइएकाहरुलाई विजयको प्रमाणपत्र दिने आयुक्त रामभक्त पीबी ठाकुरले बताए।

आग्रह

निर्वाचन आयोगले दलहरुले समानुपातिक तर्फ प्राप्त गरेको सिट संख्या घोषणा गरेर उम्मेदवारहरुको नाम बुझाउन दलहरुलाई आग्रह गर्ने आयुक्त ठाकुरले बताएका छन्।

एकीकृत माओवादीले नाम नबुझाउने बताउदै आएको अवस्थामा के गर्ने भन्नेमा कानुनमा व्यवस्था नभएकोले आयोग अलमलमा रहेको थियो।

तर कसैले नाम नपठाउँदैमा आयोगको काम नरोकिने र समानुपातिक तर्फकालाई प्रमाणपत्र दिइने आयुक्त ठाकुरले बताए।

उनले भने, "जबरजस्ती यो तपाईले लिनै पर्छ भन्न त सक्दैनौं। लिन्छ भने लिन्छ, लिदैन भने लिदैन। त्यसमा हामीले केही गर्न सक्दैनौं। कानुनले त केही भन्दैन।"

माग

एकीकृत माओवादीले निर्वाचनमा धाँधली भएकोले त्यसको छानबिनको लागि उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग र अन्तरिम संविधानमा सहमतीय प्रणाली उल्लेख गरिनु पर्ने आफ्नो माग पूरा नगरिए समानुपातिक तर्फका विजयी उम्मेदवारको नाम नपठाउने बताउँदै आएको छ।

अन्य राजनीतिक दलहरुले उसको माग मान्य नहुने बताउँदै आएका छन्।

निर्वाचन आयोगले भने धाँधली भएको भए संविधानसभा अदालतमा गएर समाधान खोज्न सुझाएको छ।