असन्तुष्ट दलहरुले आयोगको बैठकमा भाग नलिने

  • 2 डिसेम्बर 2013
Image caption निर्वाचन आयोगले सबै दलहरुलाई मंगलबार बैठकमा बोलाएको छ।

चुनावमा धाँधली भएको दाबी गर्दै आएको एकिकृत माओवादीसहित निर्वाचन परिणामबाट असन्तुष्ट दलहरुले निर्वाचन आयोगले मंगलबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।

एकिकृत माओवादीको नेतृत्वमा बसेको बैठकले चुनाव धाँधलीबारे आफूहरुले माग गर्दै आएको छानबिन आयोग गठन नगरे आन्दोलनमा समेत जान सकिने चेतावनी दिँदै सोमबार यस्तो निर्णय गरेको हो।

अडान

सम्पूर्ण मतगणना सकेको निर्वाचन आयोगले भने समानुपातिक तर्फको सिट बाँडफाँडलगायतका विषयमा छलफल गर्न सबै दलहरुलाई मंगलबार बोलाएको छ।

तर छानबिन आयोग नबन्दासम्म आफूहरु बैठकमा सहभागी नहुने निर्णय गरेको मधेसी जनअधिकार फोरमका महासचिव राम शहाय यादवले बताए।

उनले भने, "हामीले निर्वाचन आयोगसँग छानबिन आयोगको माग गर्दै बुझाएको ज्ञापनपत्र अनुसार नभएसम्म कुनै बैठकमा नबस्ने निर्णय गरेका छौं।"

हठ

निर्वाचन आयोगले मतगणना सकेर समानुपातिकको सिट संख्या दलहरुलाई बाँडफाँड गर्ने तयारी थालेपछि एकिकृत माओवादीले समानुपातिकमा आफ्ना उम्मेद्वारको सूची नबुझाउने बताएको थियो।

त्यसअघि पार्टी अध्यक्ष प्रचण्ड माओवादीसहितका १३ दलहरुको नेतृत्व गर्दै चुनावमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने एउटा आयोग गठनको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र लिएर पुगेका थिए।

घुर्की

जवाफमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावको धाँधली हेर्ने निकाय अदालत भएको भन्दै आफूहरुले माओवादीको माग अनुसार छानबिन आयोग गठन गर्न नसक्ने बताएका थिए।

मतपरिणामबाट रुष्ट एकिकृत माओवादीसहित तराई केन्द्रित दलहरुले त्यसयता अदालत जाने कुनै सुरसार गरेका छैनन्।

बरु यो विषय संवैधानिक भन्दा राजनीतिक भएकोले छानबिन आयोग गठन नभए संविधानसभामै नजाने चेतावनी दिईरहेका छन्।

तर उनीहरुको एकपछि अर्को आईरहेका चेतावनीलाई दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले उनीहरुकै शब्दमा केबल घुर्किको रुपमा लिएको देखिएको छ।