उत्तर कोरियाका प्रभावशाली अधिकारी ‘निष्कासित’

  • 3 डिसेम्बर 2013
Image caption चाङ्लाई आर्थिक सुधारवादी र किम जोङ् उनलाई निकै प्रभावमा पार्न सक्ने मानिसका रूपमा हेरिन्थ्यो

उत्तर कोरियाका नेता किम जोङ् उनका एक प्रभावशाली मामालाई पदमुक्त गरिएको दक्षिण कोरियाका सन्चार माध्यमहरूले जनाएका छन्।

दक्षिण कोरियाका गुप्तचर निकायहरूलाई उद्धृत गर्दै ती सन्चार माध्यमहरूले ६७ वर्षीय चाङ् सोङ् थाएकले उत्तर कोरियाको उच्च सैन्य निकायको उपाध्यक्ष पद गुमाएका जनाएका छन्।

समाचारहरुमा जनाइए अनुसार चाङ्का दुई निकटवर्ती सहयोगीहरूलाई भ्रष्टाचारको मुद्धामा मृत्यूदण्ड दिइएको छ।

यदि ती समाचाहरूको पुष्टी भए, किमले सत्ता सम्हाले यता उत्तर कोरियाको नेतृत्वमा यो सबैभन्दा ठूलो उथलपुथल हुनेछ।

सन् २०११ मा किम जोङ् इलको मृत्यू भएपछि, उनका छोरा किम जोङ उन सो देशका नयाँ नेता बनेका थिए।

दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले जनाए अनुसार सो देशको गुप्तचर निकायले विभिन्न स्रोतहरूले दिएका जानकारीका आधारमा त्यस्तो निष्कर्ष निकालेको हो।

गलत साबित

सौलस्थित बीबीबीसीका संवाददाता लूसी विलियमसन भन्छिन्, ती समाचारको पुष्टी गर्न गाह्रो छ र दक्षिण कोरियाका गुप्तचर निकायहरू यसअघि गलत साबित भएका छन्।

तर यदी सो कुरा सत्य भए त्यसले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने उनी बताउँछिन्।

किम जोङ उनकी बहिनीसित बिहे गरेका चाङ्लाई गद्धीपछाडिका शक्तिका रूपमा केही पर्यवेक्षकले हेर्थे।

सन् १९७० को दशकमा उत्तर कोरियाको सत्ताधारी दल कोरियाली मजदूर दलमा प्रवेश गरी उनले लामो यात्रा पार गरेर सो ठाउँसम्म पुगेका थिए।

उनी सन् १९९२ मा केन्द्रीय समितिमा निर्वाचित भएका थिए।

तर सन् २००४ मा उनी एकाएक सार्वजनिक हुन छाडेका थिए।

दक्षिण कोरियाका गुप्तचर निकायहरूलाई उद्धृत गरिएको त्यसबेलाको एक समाचार अनुसार, उनलाई नजरबन्दमा राखिएको थियो।

तर दुई वर्षपछि उनलाई पुनर्स्थापना गरिएको देखिएको थियो।

उनलाई आर्थिक सुधारवादी र किम जोङ् उनलाई निकै प्रभावमा पार्न सक्ने मानिसका रूपमा हेरिन्थ्यो।