डेट्रोइटले टाट पल्टिएको घोषणा गर्न पाउने फैसला

  • 4 डिसेम्बर 2013
डेट्रोइटस्थित एक खालि भवन
Image caption अर्थतन्त्र खस्किएपछि डेट्रोइटमा थुप्रै संरचना बेकाम्मे भएका छन्

संयुक्त राज्य अमेरिकामा एकजना न्यायाधीशले, ऋणमा चुर्लुम्म डुबेको त्यहाँको डेट्रोइट शहरले, आफुलाई टाट पल्टेको घोषणा गर्न पाउने, फैसला गरेका छन्।

न्यायाधीश स्टिभन रोड्सले, खचाखच भरिएको अदालतमा फैसला सुनाउँदै भने, कि उक्त शहरले गत जुलाईमा आफु टाट पल्टिएको जनाउँदा, ऊ साँच्चिकै कंगाल भइसकेको थियो।

अमेरिकाको इतिहासमै, यति ठूलो शहरले टाट पल्टिएको जनाएको, यो पहिलो घटना हो।

सो घोषणाको विरुद्ध, त्यहाँका मजदुर युनियन, तथा ऋण दिएका साहुमहाजनले अदालतमा मुद्दा हालेका थिए।

तर सो फैसलापश्चात, अब डेट्रोइट शहरले आफुमाथि लागेको १८ अर्ब डलरको ऋण घटाउने योजना प्रस्तुत गर्न पाउनेछ।

बीबीसी सम्वाददाता जोन्नी डाइमन्ड भन्छन्, यो घोषणाले पेन्सन थाप्ने हरुलाई निकै मर्का पर्न सक्छ, त्यस्तै प्रख्यात डेट्रोइट कला प्रतिष्ठानका कला संग्रहहरु बेचिन सक्छन्।

उनले भने, “यो फैसलापछि, अब सो शहरका आपतकालीन व्यवस्थापकले थुप्रै खर्च कटौती तथा सम्पत्ति बेचबिखनका योजना अघि सार्नेछन्।”

राहत

डेट्रोइट फैसलामाथि थप अपील हुने ठानिएको छ।

उक्त घटनालाई, अमेरिकाभर ऋण समस्यामा परेका अन्य शहरहरुले, निकै चासोपूर्वक नियालिरहेका छन्।

अमेरिकाका दिवालिया मामिलासम्बन्धी न्यायाधीश स्टिभन रोड्सले डेट्रोइट नगरलाई टाट पल्टिएको घोषणा गर्न दिएर साहुमहाजनबाट सुरक्षा दिलाउनुपर्ने फैसला गरेका हुन्।

Image caption डेट्रोइटका थुप्रै बासिन्दाहरु घरबारविहिन बन्न पुगेका छन्

त्यो मुद्दाको फैसलाले तत्कालका निम्ति डेट्रोइटलाई केही राहत दिनेछ।

बेकार

डेट्रोइट नगरका निम्ति तोकिएका आपतकालीन व्यवस्थापक केभिन ओरले अब उसका एक लाखभन्दा बढी साहुमहाजनहरुलाई कसरी ऋण तिर्ने भन्ने बारे योजना बनाउनेछन्।

सबभन्दा पहिला पेन्सन थाप्नेहरु मर्कामा पर्ने देखिन्छ।

नगरले आफ्ना धेरै खर्च कटौती गर्नुपर्नेछ।

गत मे महिनामा उनले डेट्रोइटको खस्कँदो अर्थव्यवस्थाबारे एक प्रस्तुती गरेका थिए।

त्यसमा सन् २००८ देखि सन् २०१२ सम्म प्रत्येक वर्ष डेट्रोइटको आम्दानी भन्दा खर्च औसतमा दश अर्ब रुपियाँ बढ्ता रहेको देखाइएको थियो।

हाल उक्त शहरमा करीब ४० प्रतिशत सडक बत्तीहरु काम गर्दैनन्।

डेढ लाखभन्दा धेरै घरजग्गा खाली छन् वा छाडिएका छन्।

त्यहाँका ठूला कार उद्योगहरुले आफ्नो उत्पादन कार्य अमेरिका तथा विदेशका सस्ता स्थानमा सारेपछि सो शहरको मुख्य आर्थिक र रोजगारको स्रोत सुकेको थियो।

सन् १९५० मा १८ लाख जनसंख्या रहेको डेट्रोईटमा अहिले जम्मा सात लाख मानिस बस्छन्।