व्यापक धाँधली भएको माओवादीको छानबिन समितिको निष्कर्ष

  • 4 डिसेम्बर 2013
प्रचण्ड
Image caption प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा धाँधलीलाई समाधान गर्ने उपाय खोज्न सिफारिस गरिएको छ

चुनावमा धाँधली भएको भन्दै एकीकृत माओवादीले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले पार्टीलाई उच्चस्तरीय छानविन आयोग गठनको लागि पहल गर्न सिफारिस गरेको छ।

समितिले मंगलबार अध्यक्ष प्रचण्डलाई बुझाएको प्रतिवेदनमा निर्वाचन आयोग, नेपाली सेना र सरकारको मिलेमतोमा धाँधली भएकोले उपचारको बाटो खोज्न सुझाएको हो।

ठहर

चुनावमा धाँधली भए नभएकोबारे छानबिन गर्न गठित समितिले मंगलबार उक्त पार्टीका अध्यक्ष प्रचण्डलाई धाँधली भएको निष्कर्ष सहित प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा उच्चस्तरीय छानबिन आयोग गठन गरी उपचारको बाटो खोज्न सुझाईएको समितिका सदस्य रामचन्द्र झाले बताए।

धाँधलीमा राज्यका निकायहरु नै संलग्न रहेको ठहर भएको उनको भनाई छ।

उनले भने, “निर्वाचन आयोग र सुरक्षा अङ्गको मिलेमतोमा यस्तो खाले धाँधली भएको छ। संघीयता र समावेशी लोकतन्त्र विरोधी मानसिकता भएका व्यक्तिहरुको वाहुल्यता भएको सरकार भएको कारणले गर्दा संघीयता पक्षधरहरुलाई पराजित गराउने मनासयबाट यसो गरिएको हो।”

संघर्ष

प्रतिवेदनमा सुझाईए अनुसार पार्टीले छानबिनको लागि आयोग गठन गर्न माग गर्ने तर माग पूरा नभए सडक संघर्षमा जाने झाले बताए।

“सरकारले हाम्रो माग सुन्छ भने सुन्छ। होइन भने हामी जनताको बीचमा जान्छौं। सडक संघर्षमा जान्छौं। त्यसको रुप तय गर्न भने बाँकी छ,” उनले भने।

एकीकृत माओवादीले धाँधली भएकोले आफ्नो पार्टीले पराजय भोग्नु परेको बताई रहेतापनि सोही पार्टीका अध्यक्ष प्रचण्डले नै धाँधली गरेर सिराहामा चुनाव जितेको भन्दै उनका निकटतम प्रतिद्वन्द्वीले संविधानसभा अदालतमा उजुरी गरेका छन्।