फिरौतीका लागि हजारौं इरिट्रियालीहरुको अपहरण

  • 5 डिसेम्बर 2013
eritrea
Image caption मानव तश्करहरुले शरणको खोजीमा देश छाड्न वाध्य इरिट्रियालीहरुलाई निशाना बनाएका छन्

सन् २००७ यता करीब ३० हजार इरिट्रियालीहरुलाई अपहरण गरी, इजिप्टको सिनाई मरुभूमिमा यातना दिने गरिएको, पछिल्लो अनुसन्धानले देखाएको छ।

खासगरी शरणको खोजमा बाहिरिने इरिट्रियालीहरुलाई, मानव तश्करहरुले आफ्नो फन्दामा पारी, फिरौतीका निम्ति अपहरण र यातना दिने गरेको पाइएको छ।

तिनको परिवारबाट, कम्तीमा ६० करोड डलर अर्थात करीब ६० अर्ब रुपियाँ फिरौति उठाइएको छ।

स्वीडेन तथा नेदरल्याण्डसका मानव अधिकारवादी, तथा प्राज्ञहरुद्वारा उक्त अनुसन्धानको नतीजा, यूरोपेली संसद समक्ष पेश गरिएको छ।

कैयौं अपहरितहरुलाई, यातनाकै बीच तिनका नातेदारलाई फोन गर्न वाध्य पारिने गरिएको, अनुसन्धानले देखाएको छ।

उक्त प्रतिवेदनका एकजना लेखिका मेरोन एस्टिफानोस, स्वयंको नातेदारलाईपनि, यातनाकै बीच परिवारलाई फोन गर्न अह्राइएको थियो।

एस्टीफानोसले बीबीसीसंग भनिन्, “कैयौं पटक उनले रुँदै, रुँदै उद्वारको आग्रह गर्थिन। कतिपय पटक उनलाई बलात्कार गर्दै फोन गराइन्थ्यो र उनकी आमालाई त्यो सुन्न वाध्य पारिन्थ्यो।”

मानव तश्करी

संयुक्त राष्ट्रसंघका अनुसार, खासगरी शरणको खोजीमा बाहिरिने, इरिट्रियालीहरु मानव तश्करहरुद्वारा अपहरणमा पर्ने गर्छन्।

यूरोपेली संसदसमक्ष पेश गरिएको उक्त अनुसन्धानले यी घटनाहरुमा इरिट्रियाली तथा सुडानी सुरक्षा अधिकारीहरुको अपहरण गर्ने जत्थासंग मिलेमतो रहेको जनाएको छ।

पीडितहरुलाई खासगरी इरिट्रिया, इथियोपिया तथा सुडानबाट अपहरण गरी सिनाई लगिने गरिएको छ।

अपहरितहरुलाई सामूहिक रुपमा बाँधिने गरिएको र उनीहरुलाई खानपिन तथा सुत्न समेत नदिइ चर्को यातना दिने गरिएको रिपोर्टमा उल्लेख छ।

उनीहरुलाई मारिदिने तथा अंग झिकिदिने धम्की दिने गरिएको रिपोर्टले जनाएको छ।

संयुक्त राष्ट्रसंघको अनुमान अनुसार गत वर्ष मात्रै हरेक महिना करीब ३ हजार इरिट्रियालीहरुले आफ्नो देशको शोषणयुक्त व्यवस्था तथा चरम गरिबीबाट मुक्तिका लागि इरिट्रिया छाडेका थिए।

तीमध्ये कैयौं छिमेकी पूर्वी सुडानका शरणार्थी शिविरहरुतर्फ लागे। ती शिविरमा हाल ९० हजारभन्दा ज्यादा शरणार्थी रहेका छन्।