चुनावमा धाँधलीको आरोप सेनाद्वारा अस्वीकार

  • 5 डिसेम्बर 2013
नेपाली सेनाका जवानहरु
Image caption सरकार पक्षीय दलकै समर्थनमा सरकारले चुनावमा सुरक्षाको तेश्रो घेरामा सेना तैनाथ गरेको थियो

नेपाली सेनाले संविधानसभाको चुनावमा सरकारद्वारा आफूलाई दिइएको जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई निष्पक्ष रुपमा निर्वाह गरेको प्रष्टीकरण दिएको छ।

उसले विज्ञप्ती जारी गर्दै संविधानसभाको चुनावमा धाँधली भएको र त्यसमा आफू संलग्न भएको भनि लगाइएका आरोपहरु अस्वीकार गरेको हो।

उसले त्यस्ता आरोपलाई आफूलाई अनावश्यक रुपमा विवादमा तान्ने प्रयासको रुपमा अर्थ्याएको छ।

मौनता

एकीकृत माओवादीले मतगणनाको प्रारम्भिक नतिजा आउन थालेदेखि नै चुनावमा धाँधलीको भएको आरोप लगाउन शुरु गरेको थियो।

आरोपको त्यो श्रृँखला जारी रहँदासम्म दुई साता मौनता साँधेको सेनाले एकीकृत माओवादीको आन्तरिक समितिले प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै मुख खोलेको हो।

एकीकृत माओवादीले धाँधलीमा सेना संलग्न रहेको किटान गरे पनि सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तीमा कुनै दलको नाम उल्लेख छैन्।

विज्ञप्तीमा भनिएको छ, "नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आफ्नो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ठ भई पालना गरेको परिप्रेक्ष्यमा केही संचार माध्यममार्फत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यक रुपमा विवादमा तानी नेपाली सेनाको अराजनीतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारबाजीप्रति ध्यानाकर्षण भएको छ।"

जवाफ

सेनाले चुनाव निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य अनुरुप सरकारले आफूलाई जिम्मेदवारी दिएको उल्लेख गरेको छ।

त्यो जिम्मेवारी इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायीक ढंगले पुरा गरेको सेनाको भनाइ छ।

उसले भनेको छ, "नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ।"

जानकारहरुका अनुसार देशको सुरक्षाको अन्तिम अंग मानिने सेना लोकतान्त्रिक मुलुकहरुमा सामान्यतया आन्तरिक राजनीतिक विवादभन्दा टाढै रहने गर्छ।

तर एकीकृत माओवादीका कतिपय नेताहरुले चुनावमा संलग्न सवै पक्षले आफ्ना आरोपहरुबारे जवाफ दिनु पर्ने सार्वाजनिक अभिव्यक्ति दिने गरेका बेला जवाफ दिन जंगी अड्डा आफै अग्रसर भएको देखिएको छ।