एमाओवादीलाई सँगै लैजान्छौं: कांग्रेस,एमाले

  • 7 डिसेम्बर 2013
Image caption कांग्रेस र एमालेले एकिकृत माओवादीलाई संविधानसभामा सँगै मिलेर जान आईतबार बिहान आग्रह गर्ने भएका छन्

नेपाली कांग्रेस र नेकपा एमालेले चुनावको वैधानिकतामा प्रश्न उठाउने कुनै ठाउँ नरहेको साझा निष्कर्ष निकाले पनि मतगणनाको शुरूदेखि नै चुनावमा षड्यन्त्र भएको दाबी गर्दै आएको एकीकृत माओवादीसँग वार्ता गर्ने निर्णय गरेका छन्।

चुनावी नतिजापछि शनिबार पहिलो पटक औपचारिक छलफल गरेका यी दुई दलले चुनावमा धाँधली भएको भन्दै त्यसको छानबिन नभएसम्म संविधानसभामा सहभागी नहुने चेतावनी दिईरहेको एकीकृत माओवादीसँग तत्काल वार्ता गर्ने निर्णय गरेका हुन्।

दुवै दलले आईतबार एकीकृत माओवादीसँग छुट्टाछुट्टै छलफल गरी संविधानसभामा आउन आग्रह गर्ने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।

उनले भने, "संविधानसभा नै सबै मुद्दाको माग र सम्बोधन गर्ने थलो हो, उनीहरुले त्यही थलोमा आएर आफ्ना मुद्दा उठाउने र त्यहींबाट निराकरण गर्नुपर्छ।"

निम्तो

शनिबार बैठक स्थलबाटै उनीहरुले एकीकृत माओवादीका नेताहरुलाई सम्पर्क गरी वार्ताको लागि निम्तो दिएका थिए।

पहिलो संविधानसभामा भएका सहमति अनुसार अघि बढ्न तयार रहेको बताउने गरेका कांग्रेस र एमालेले माओवादीका गुनासाहरु उसकै मुखबाट सुनेपछि साझा धारणा तय गर्ने बताएका छन्।

सहमति

एकीकृत माओवादीका मागबारे नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भने, "यो निर्वाचनमा कतिपय अनुचित र टिप्पणी योग्य केही कुराहरु भएका होलान् त्यसका लागि अलग ढंगले छानबिन हुनसक्ला तर हामी दुई पार्टीले बैठकमा यो चुनावको उच्च मुल्यांकन गरेका छौं।"

एकीकृत माओवादीले चुनावमा उसकै शब्दमा भएको भनिएको धाँधलीको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताउने गरेको छ।

तर कांग्रेस र एमालेले संविधानसभा अदालतले नै छानबिन गर्न सक्ने धारणा राख्दै आएका छन्।