दश खर्ब डलरको ‌विश्वव्यापी व्यापारबारे सहमति

  • 7 डिसेम्बर 2013
Image caption नयाँ सहमतिले आयातित मालसामानमा लगाइने कर तथा शुल्कको विषयलाई समेट्न नसकेको बताइएको छ

झण्डै १६० देशका मन्त्रीहरू गरीब देशहरूलाई तीनका उत्पादन सजिलो गरी बेच्न दिइ विश्व व्यापार बढाउन एक सहमतिमा पुगेका छन्।

इण्डोनेसियाको बालीमा भएको विश्व व्यापार संगठनको सो विस्तृत सहमतिमा देशहरूबीच व्यापार गर्ने पद्धतीहरूलाई सरल बनाउने प्रयास रहेको छ।

विश्वका सबैभन्दा गरिब देशहरुलाई तीनको मालसामान अन्य देशमा बेच्दा भन्सार तिर्नु नपर्नेतर्फ सुधारिएका प्रावधान उक्त सम्झौतामा छ।

विश्व व्यापारमा दश खर्ब डलरसम्म थप्न सक्ने सो सहमतिले विकासोन्मुख देशहरूलाई कृषिक्षेत्रमा थप सहुलियत दिने बाटो खोलिदिने बताइएको छ।

विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आजेभेदोले भने, “हाम्रो इतिहासमा पहिलो पटक यस संगठनले केही ठोस कुरा दिन सकेको छ।

“यस पटक सबै सदस्यहरूले एउटै बोली बोल्न सहमत भए। हामीले हाम्रो संगठनमा साँचिक्कै विश्वलाई फेरि स्थापना गर्न सकेका छौं।“

विश्व व्यापार संगठनको स्थापना सन् १९९५ मा भएको हो।

फाइदा

इण्डोनेसियाकी व्यापारमन्त्री गिता विर्जवानले सो सम्झौताले उक्त संगठनका सबै सदस्यहरूलाई फाइदा पु-याउने बताइन्।

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरूनले भने, “सो ऐतिहासिक सहमति विश्वका गरिब जनताकालागि अत्यन्त महत्वपूर्ण हुनेछ र त्यसले ब्रिटिश व्यापारलाई एक अर्ब डलरसम्म फाइदा पु-याउन सक्छ।“

वाशिङ्टस्थित एउटा संस्थाले सो सहमतिले दुई करोडसम्म नयाँ रोजगारी श्रृजना गर्ने जनाएको छ।

तर विकास सम्बन्धि अभियानमा लागेकाहरूले सो सहमतिले खासै केही गर्न नसक्ने भनी आलोचना गरेका छन्।

उक्त सहमतिले आयातित मालसामानमा लगाइने कर तथा शुल्कको विषयलाई समेट्न नसकेको बताइएको छ।

विगतमा विश्व व्यापार संगठनका बैठक तथा छलफलहरूमा यो विषय अनिवार्य रूपमा उठ्थ्यो।

पछिल्लो सहमतिको मुटुमा व्यापार सहजिकरण रहेको छ।

त्यसमा मुख्यतया अन्तर्राष्ट्रिय व्यापारमा हुने ढिलाइ र खर्च घटाउने रहेको छ।