युक्रेनमा सुरक्षाकर्मीद्वारा विपक्षी दलको कार्यालयमा छापा

  • 10 डिसेम्बर 2013
किएभमा प्रदर्शनकारी
Image caption युरोपेली युनियनसंगको खुल्ला ब्यापार सम्झौता तोड्ने सरकारी निर्णयको विरोधमा युक्रेनमा तनाव बढेको हो

युक्रेनको राजधानी किएभका सडकमा तनाव बढ्दैजांदा सुरक्षाकर्मीले थुनामा राखिएकी विपक्षी नेता युलिया त्मोशेन्कोको पार्टीको मुख्यालयमा छापा मारेका छन्।

त्याहाँ सुरक्षा दस्ताले कम्प्युटरका सर्भरहरु नष्ट गरिदिएको आरोप विपक्षीहरुले लगाएका छन्।

युरोपेली युनियन ईयुसंगको खुल्ला ब्यापार सम्झौता तोड्ने सरकारी निर्णयको विरोधमा युक्रेनमा तनाव बढेको हो।

सुरक्षा फौजले कारवाहीलाई तिब्रता दिएपनि विपक्षी नेताहरुले सरकार विरोधी प्रदर्शनकारीहरुलाई राजधानी किएभको विरोधको केन्द्रविन्दु बनेको इन्डिपेन्डनेन्स् स्वायर नछोड्न भनिरहेका छन्।

नष्ट

तर सुरुक्षाकर्मीको एक विशेष दस्ताले विपक्षी दलको एक मुख्यालयमा छापामारि त्याहाँ तोडफोड र कम्प्युटरको सरभरलाई पुरै नष्ट गरिदिएको विपक्षी नेताहरुले बताए।

Image caption विपक्षी नेताहरुले सरकार विरोधी प्रदर्शनकारीहरुलाई किएभको इन्डिपेन्डनेन्स् स्वायर नछोड्न भनिरहेका छन्

एक विपक्षी नेताले भने, “विशेष दस्ताका सदस्यहरु पार्टी कार्यालयभित्र पसेर कम्प्युटरको पुरै सर्भर कोठालाई नष्ट गरिदिएका छन्।”

“उनीहरुले कार्यालय र समाचारकक्ष पनि भत्काइदिए। उपकरणहरु सबै नष्ट गरिदिए।

पुरै कार्यालय हातामा तोडफोड गरिएको छ। ढोकाहरु पनि फोरिएका छन्।”

किएभमा रहेका बीबीसीका स्टिभ रोजनबर्ग भन्छन् शहरमा प्रहरीको संख्या ह्वात्तै बढाइएको छ।

चिन्ता

Image caption तनाव बढ्न थालेपछि किएभका सडकमा प्रहरीको संख्या ह्वात्तै बढाइएको छ

अमेरीकी उपराष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई टेलिफोन गरेर किएभको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै दुबै पक्षले वार्ताद्वारा समाधान खोज्नु पर्नेमा जोड दिएका छन्।

त्यसबारे ह्वाइट हाउले जारी गरेको एक विज्ञप्तीमा भनिएको छ, “प्रजातन्त्रमा हिंसाको लागि कुनै स्थान नहुने र हिंसाले दुई देशबीचको रणनैतिक सम्वन्धमा असर पर्ने कुरा बाइडेनले स्मरण गराएका छन्।”

यस अघि यानुकोभिचले युरोप पक्षीय विपक्षीसंग आफू वार्ता गर्न तयार रहेको बताएका थिए।