समानुपातिकको सुची बनाउन दलहरुले परामर्श लिदैछन् : आयोग

  • 9 डिसेम्बर 2013
Image caption निर्वाचन आयोगले समानुपातिकको सुची बुझाउन दलहरुलाई दिएको समय मंगलबार सकिंदैछ

निर्वाचन आयोगमा दलहरुले समानुपातिक तर्फका आफ्ना उम्मेदवारहरुको नामावली बुझाउन मंगलबारसम्म मात्र समय बाँकी रहदा आयोगले भने हालसम्म प्राप्त सुचीहरुको अध्ययन सुरु गरीसकेको जनाएको छ।

उम्मेदवारका नामावली बुझाउन बाँकी दलहरुले पनि उम्मेदवारहरुको सुचीलाई बढि भन्दा बढि समावेशी बनाउन आयोगसँग परमर्श जारी राखेको एकजना आयुक्तले बीबीसीलाई बताएका छन्।

अध्ययन

निर्वाचन आयोगले गएको मंगलबार दलहरुले पाएको समानुपातिक तर्फको सिट संख्या तोकी सो संख्या बराबर विजयी उम्मेदवारहरुको सुची बुझाउन एकहप्ताको समय दिएको थियो।

आइतबार सम्म पाँचवटा दलहरुले सुची बुझाईसकेका छन् भने बाँकी २५ वटा दलहरुले मंगलबारसम्ममा बुझाईसक्नु पर्नेछ।

निर्वाचन आयोगले आफूलाई प्राप्त नामावलीहरु संवैधानिक व्यवस्था अनुसार छन् या छैनन् भन्ने विषयमा अध्ययन थालेको आयुक्त दोलखबहादुर गुरुङले बताएका छन्।

उनले भने, “सुचीहरु हेर्ने काम त भइरहेकै हुन्छ। जवाफ चाहिं पर्सी (बुधबार) मात्रै दिन्छौं। एक दुई सिट आउनेहरुको त उहाँहरुले जे पठाउनुभएको छ, प्राय: त्यही ठिक हुन्छ।”

प्रावधान

समानुपातिक तर्फका ३३५ जना उम्मेदवारको ३० प्रतिशत अर्थात १०० जना भन्दा बढि उम्मेदवार उठाउने दलले ५० प्रतिशत महिला अनिवार्य रहने गरी, विभिन्न समुदायलाई समेट्न समावेशी र समानुपातिक ढंगले उम्मेदवारको सुची आयोगमा बुझाउनु पर्ने कानुनी प्रावधान छ।

तर १०० जना भन्दा कम उठाउनेले ५० प्रतिशत महिला मात्रै पुर्याए हुन्छ।

कानुनी प्रावधान अनुसार रित नपुर्याइएका नामावलीलाई सच्याउन निर्वाचन आयोगले दलहरुलाई थप तीन दिनको समय दिनेछ।

तर समयसिमा समाप्त हुनु अघि हाल दलहरुले कानुनले तोकेको संख्या पुर्याउन आयोगसँग परामर्श जारी राखेको आयुक्त गुरुङले बताए।

“दलहरुले नबुझेको कुराहरु बुझ्न आउने जाने कामहरु भइरहेको छ।” उनले भने

यसैबीच कतिपय दलहरुमा भने समानुपातिक तर्फका उम्मेदवारहरु चयन गर्ने विषयमा मापदण्ड तयार गर्ने लगायतका विवाद र अन्योल रहेका खबरहरु आइरहेका छन्।