उत्तर कोरियाका शक्तिशाली राजनीतिज्ञ बर्खास्त

  • 9 डिसेम्बर 2013
उत्तर कोरियाली नेता
Image caption उत्तर कोरियाली समाचार संस्था केसीएनएले जाङले आपराधिक काम गरेकोले उनलाई बर्खास्त गरिएको जनाएको छ

उत्तर कोरियालले आफ्नो देशका सबै भन्दा शक्तिशाली मध्येका एक राजनीतिज्ञलाई बर्खास्त गरिएको खबरको पुष्टी गरेको छ।

त्यहाँको सरकारी समाचार संस्थाले जाङ सोङ थाएकलाई “आपराधिक कार्यहरु” गरेको अभियोगमा पदच्युत गरिएको उल्लेख गरेको छ।

उनी उत्तर कोरियाका नेता किम जोङ उनका नजिकका नातेदार हुन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जाङले आपराधिक काम गरेकोले उनलाई बर्खास्त गरिएको जनाएको छ।

जाङ उत्तर कोरियाका आर्थिक सुधारक, चीन र प्योङयाङका अन्य मित्र देशहरुसंगका वार्ताका एक प्रमुख सहभागीका रुपमा चिनिन्थे।

कतिपय विश्लेषकहरुले पछिल्लो घटनालाई उत्तर कोरियाको सत्ताको बागडोर किमले आफ्नो बाबुबाट सम्हालेपछिको पहिलो प्रमुख राजनीतिक उथलपुथल मानेका छन्।

आरोपहरु

उत्तर कोरियाली समाचार संस्थाका अनुसार जाङलाई हटाउने निर्णय सत्तारुढ कोरियन वर्कर्स पार्टीको पोलिटब्युरोको वैठकमा लिइएको थियो।

सो वैठकले जाङ र उनको समुहले “पार्टी विरोधी, क्रान्ति विरोधी र पार्टीलाई टुक्याउने र एकतामा खलल पुर्‍याउने” कार्यहरु गरेको आरोप लगाएको समाचारमा उल्लेख छ।

उनलाई पर्दा पछाडी दोहोरो भूमिका निभाएको आरोप पनि लगाइएको छ।

उनलाई सबै पदहरुबाट हटाइएको जनाइएको छ।

उनको तस्विरलाई शनिवार प्रसारित एक टेलिभिजन डकुमेन्ट्रीबाट पनि हटाइएको बताइएको छ।

सो पार्टीले जाङ निकट दुई जना विरुद्ध यस अघि नै भ्रष्टाचारको अभियोगमा कारवाही गरेको दक्षिण कोरियाली समाचारहरुमा जनाइएको थियो।