विश्व नेताहरू मन्डेलाको स्मृतिसभामा सहभागी

  • 10 डिसेम्बर 2013
Image caption जोहानेस्बर्गस्थित एक रंगशालामा आयोजित स्मृतिसभामा उपस्थित मानिसहरूमा ठूलो उर्जा देखिएको छ

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको स्मृतिसभामा सहभागी थुप्रै विश्व नेताहरूलाई दशौं हजार दक्षिण अफ्रिकीहरूले साथ दिएका छन्।

जोहानेस्बर्गस्थित एफएनबी रंगशालामा आयोजित सो सभामा उपस्थित मानिसहरूमा ठूलो उर्जा देखिएको छ।

मन्डेलालाई इतिहासको महान व्यक्ति भन्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले दक्षिण अफ्रिकीहरूलाई भने, “नेल्सन मन्डेलालाई हामीले पनि नेता मान्न पाएकोमा विश्वले तपाईहरूलाई धन्यवाद दिन चाहन्छ।

“मन्डेलाले देखाएका बाटोमा हिंडेर असामानता, गरिबी र रंगभेद विरूद्ध लड्न म विश्वलाई आग्रह गर्न चाहन्छु।“

प्रभावित

ओबामाले आफ्नो जीवन यात्रालाई मन्डेलाको उदाहरणले प्रभावित तुल्याएको बताउँदै भने, “हामीले नेल्सन मन्डेला जस्तो व्यक्ति फेरि देख्‍न पाउने छैनौं।

“म मडिबाको अगाडि जहिले पनि स्यानो रहने छु यद्यपि उनले मलाई अझ राम्रो मानिस बन्न जहिले पनि प्रोत्साहन गर्नेछन्।“

मन्डेलाको गत बिहीबार ९५ वर्षको उमेरमा मृत्यू भएको थियो।

आइतबार हुने उनको अन्त्येष्टीअघि दक्षिण अफ्रिकामा श्रृङ्खलाबद्ध रूपमा स्मृतीसभाहरूको आयोजना गरिएको छ।

जोहानेस्बर्गमा आयोजित स्मृतीसभा हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित व्यक्तिहरूको सबैभन्दा ठूला भेलाहरूमध्येको एक हो।

शुरूमा सो सभास्थलमा सहभागीहरू नअटाउने डर थियो तर भारी वर्षाका कारण ९५,००० क्षमताको सो रंगशालाका केही भागहरू खाली रहन पुगेका थिए।