अमेरिकामा बजेट संकट रोक्ने विषयमा सहमति

  • 11 डिसेम्बर 2013
अमेरिकी सांसदहरु
Image caption रिपब्लिकन कंग्रेस सदस्य पाउल र‍्यानले सहमति जुटाउन दुबै पक्षले साझा विन्दु पहिल्याएको बताए

सो समितिमा रहेका वार्ताकारहरुले सरकारी खर्च कटौती रोक्ने विषयमा दुई वर्षसम्म लागू हुने सहमति गरिएको बताए।

सहमति अनुसार सरकारको बजेट अभाव कम गर्नको निम्ति थप आम्दानीको जोहो गर्न दिर्घकालिन कदमहरु चालिने छ्न्।

लागू हुनको लागि सो सहमति संसदका दुबै सदनहरुबाट पारित हुनु पर्छ।

गत अक्टोबरमा सरकारी सेवा बन्द भएपछि बजेट संकट समाधान गर्ने उपाय खोज्न गठित दुई दलिय संसदीय बजेट समितिले खर्च कटौती गर्ने विषयमा सहमति गरेको हो।

खर्चको जोहो

सहमति अनुसार दुई वर्षसम्मको लागि सरकारी खर्चको जोहो हुनेछ र बजेट अभावलाई २३ अरब डलरले घटाइने छ।

जनवरी १५ देखि हुने सरकारी सेवा बन्दलाई पनि पछिल्लो सहमतिले टारि दिएको छ।

रिपब्लिकन कंग्रेस सदस्य पाउल र‍्यानले सहमति जुटाउन दुबै पक्षले साझा विन्दु पहिल्याएको बताए।

“हामीले करको दायरालाई नबढाइकनै बजेट अभाव कम गर्ने सहमति गरेका छौं।”

“हामीले केही स्थायी सुधारका योजना अघि सारेका छौं, यो सहमतिपछि अब पटक पटक सरकारी सेवा बन्द हुने अवस्थाको अन्त्य हुने भएको छ।”

सो समितिमा रिपब्लिकन पाउल र‍्यानसंगै डेमोक्रेटिक सांसद प्याटी मरे थिए।

आशा

सांसदहरुले संकट तोड्ने विषयमा सहमति जुटाउन आफूहरु सफल भएकोमा खुशी व्यक्त गरे।

दुवैले पछिल्लो सहमतिलाई संसदका दुबै सदनले पारित गर्ने आशा व्यक्त गरेका छन्।

सहमतिमा विमानस्थलमा यात्रुले सुरक्षा दस्तुर तिर्ने लगायतका खर्चको जोहो गर्ने प्रस्ताव समेटिएको छ।