बाङ्लादेशका विपक्षी नेता मुल्लाहलाई मृत्यूदण्ड दिइयो

  • 12 डिसेम्बर 2013
Image caption मुल्लाहले गरेका अपीललाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो

बाङ्लादेशका विपक्षी नेता अब्दुल कादेर मुल्लाहलाई मृत्यूदण्ड दिइएको छ।

उनी सन् १९७१ को ‌बाङ्लादेशको स्वतन्त्रताको लडाईंमा भएको भनिएको मानवता विरूद्ध अपराधमा दोषी पाइएका थिए।

उनलाई दोषी ठहर गरी मृत्यदण्ड सजाय सुनाइएको यसअघिको फैसलालाई सर्वोच्च अदालतले बिहीबार सदर गरिदिएको थियो।

पहिलेको सो फैसलामाथि पुनर्विचार गर्न मुल्लाहले गरेका अपीललाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो।

झुण्ड्याएर मृत्यूदण्ड

सो फैसलाको केही घण्टाभित्रै ६५ वर्षीय मुल्लाहलाई ढाकास्थित केन्द्रीय कारागारमा झुण्ड्याएर मृत्यूदण्ड दिइएको छ।

उनी जमात ए इस्लामी दलका वरिष्ठ नेता थिए।

उनी विरूद्धको अदालती कारवाहीको विरोधमा केही समयअघि उनको दलका समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेका थिए।

बाङ्लादेशका महान्यायाधिवक्ताले सर्वोच्चको फैसलाले कानूनी प्रक्रिया पुरा गरेको भएपनि मुल्लाहले राष्ट्रपतीय क्षमादान पाउन सक्ने यसअघि बीबीसीलाई बताएका थिए।

यस वर्ष अदालतले अन्य इस्लामी नेताहरूलाई पनि १९७१ को ‌स्वतन्त्रताको लडाईंमा भएका भनिएका मानवता विरूद्धको अपराध सम्बन्धि मुद्धामा मृत्यूदण्ड सजाय सुनाइसकेको छ।

ती मध्ये मृत्यूदण्ड दिइएको मुल्लाह पहिला विपक्षी नेता हुन्।

जमात ए इस्लामीले उनी विरूद्धको मुद्धा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएको छ।

ढाकामा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।